
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूले विषेश महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन सुरू गरेका छन् । सोमबारसम्म १०९ जनाले हस्ताक्षर गरेका छन् । त्यसमा पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने हस्ताक्षर गरिसकेका छैनन् । हस्ताक्षर अभियानमा देउवा पक्षका नेताहरु पनि मिसिएका छन् । कांग्रेसमा नेतृत्व फेर्न सुरू गरिएको यो अभियानले बिस्तारै गति लिने देखिएको छ ।
अभियानलाई जिल्ला र प्रतिनिधि सभा क्षेत्रसम्म पु¥याउने बताइएको छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले अभियानको सुरुवात गरेका हुन् । २०७८ सालमा भएको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाले ६०, शेखर कोइरालाले ४० र महामन्त्रीमा गगन थापाले ६४ प्रतिशत मत ल्याएका थिए। यसअनुसार संस्थापनइतर पक्षले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरी विशेष महाधिवेशन बोलाउन माग गर्न सक्ने देखिएको छ ।
केही समय पहिले बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राख्दा सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरूले विरोध गरेका थिए । कांग्रेसमा केन्द्रीय सदस्यमध्ये ४० प्रतिशत र महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतले हस्ताक्षर गरी माग गरेमा सभापतिले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । हाल केन्द्रीय समितिमा सभापति देउवा पक्षका ८० प्रतिशत बढी सदस्य छन् ।
सभापति देउवा अहिले नै पदबाट राजीनामा दिने पक्षमा देखिएका छैनन् । जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका उनी सैनिक अस्पतालमा उपचाररत छन् । सभापति देउवाको टाउकोमा १२ टाँका लगाएको छ । देउवा दम्पतीमाथि भदौ २४ गते आक्रमण भएको थियो । देउवाले पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘असजिलो परिस्थितिमा सहयोग गर्न’ भनेका छन् ।
केन्द्रीय समितिबाट विशेष महाधिवेशन निर्णय हुने सम्भावना नदेखिएपछि महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान सुरू गरेका हुन् । बहुसंख्यक प्रतिनिधिको सभापतिको ‘ग्रेसफुल एक्जिट’ हुनुपर्छ भन्ने मनसाय रहेको शेखर पक्षका नेताहरुको दाबी छ । देउवाले जनताको म्यान्डेटअनुसार काम पनि गर्न नसकेको उनीहरुको आरोप छ । भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनले पनि त्यसको प्रष्ट संकेत गरेको नेताहरुले बताएका छन् । तीन महिनामा विशेष महाधिवेशन बोलाउनुपर्ने र त्यो महाधिवेशनले पार्टीको नीति र नेतृत्व चयन गर्ने हस्ताक्षर अभिभयानमा संलग्न नेताहरु बताउँछन् । पार्टीलाई जनताको मागअनुसार समसामयिक रूपमा रूपान्तरण गर्दै लैजानुपर्ने देखिएकाले नेतृत्व परिवर्तनको अभियान सुरु गरिएको उनीहरुले जनाएका छन् ।
कांग्रेमा अब राष्ट्रिय भेला गर्ने र विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न आह्वान गर्ने तयारी चलिरहेको छ । ‘पार्टी रूपान्तरण र व्यवस्थित भएको हेर्न चाहनेहरूले विशेष महाधिवेशन बोलाउन सहयोग गर्नुहोस् भनेर आह्वान गरिन्छ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘त्यसपछि जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा पनि हस्ताक्षर गर्छौं, अहिले पनि हस्ताक्षर गर्ने काम बिस्तारै अघि बढिरहेकै छ ।’ संस्थापनइतर समूहले विशेष महाधिवेशन माग गरेका बेला सभापति देउवा पक्ष भने रक्षात्मक बन्दै गएको छ ।






कर्मसञ्चार । २०८२ असोज ७ गते मंगलवार