सुर्खेतस्थित पाँच राजनीतिक दलले भने– प्रतिनिधि सभा विघटन असंवैधानिक

सुर्खेतः सुर्खेतस्थित पाँच राजनीतिक दलले मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिबारे धारणा सार्वजनिक गरेका छन् । सुर्खेतमा क्रियाशील नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन गर्नु संवैधानिक सर्वोच्चता र संविधानमाथिको प्रहार भएको बताएका छन् । विज्ञप्ति सार्वजनिक गर्न बुधवार नेकपा (एमाले) सुर्खेतको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएकाले त्यसप्रति आफूहरूले असहमति जनाएको बताए । उने भने, ‘अहिलेको असहज परिस्थितिको निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट नै हुनुपर्दछ ।’
जारी विज्ञप्तिमा मुलुकमा उत्पन्न वर्तमान घटनाक्रमले देश गम्भीर संकटमा धकेलिएको बताइएको छ । ‘मुलुकको राष्ट्रिय स्वतन्त्रता, अखण्डता तथा संविधानको रक्षाका साथै भदौ २३ र २४ गते भएको जेनजी समुहको प्रदर्शनको क्रममा ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै सो आन्दोलनका भएका घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौ ।’
विज्ञप्तिमा आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ती ऐतिहासिक धरोहर, राजनीतिक दलहरुका कार्यालय र व्यक्तिगत सम्पत्तीमा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसाका घटनाहरुप्रति निन्दा गरिएको छ । राजनीतिक दलहरुले घटनामा भएको जनधनको क्षतिका सम्वन्धमा छानविन गरी सो कार्यमा संलग्नलाई कानून बमोजिम कारवाही गर्न सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण पनि गराएका छन् ।
‘नेपालको संविधान तथा प्रचलित कानून वमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्म विपरित अलोकतान्त्रिक तथा असंवैधानिक ढङ्गले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको छ । लोकतान्त्रिक र कानूनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानून बमोजिम हुनुपर्ने र सबै निकायहरु संविधान र कानून बमोजिम सञ्चालन हुनुपर्दछ भन्ने कुरामा हाम्रो अटल विश्वास रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावतले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र सविधान सभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरितका कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न नसकिंने बताए । उनले भने, ‘यस्तो कदमले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार भएको छ ।’ विषम परिस्थितिमा मुलुकलाई एकताबद्ध बनाउदै राष्ट्र राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुन राजनीतिक दलहरुले आग्रह गरेका छन् । नेपालको वर्तमान संविधान नै नेपाल र नेपालीको हितमा रहेको भन्दै दलहरूले संविधान दिवसलाई एक महत्वपूर्ण उत्सवको रूपमा मनाउने निर्णयसमेत गरेका छन् ।

प्रकाशित मितिः   September 18, 2025 at 1:26 pm 


  • प्रतिक्रिया दिनुहोस्