भेरी–बबई डाइभर्सनः आयोजनाको प्रगतिमा प्रविधिको हात

सुर्खेत, ४ वैशाख ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नुपर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।सुरुङमार्गको मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्रेक थ्रु’को घोषणा गरे। २०६८ सालमा आयोजना सुरु गरिएकोमा २०७६ चैतमा सम्पन्न गर्नुपर्ने काम २०७५ चैतमा नै सम्पन्न भएको हो।

नेपालको सबै आयोजनाहरु तोकिएको समय सिमामा सम्पन्न हुन नसकिरहेको अवस्थामा यो आयोजनाको प्रगतिमा भने प्रविधिको ठूलो हात रहेको देखिएको छ। उक्त आयोजनाका निर्देशक सन्जीब बरालका अनुसार प्रविधिको कारण नै यो आयोजनाको काम द्रुत गतिमा भएको हो। उनका अनुसार १९ महिना यो मेसिनको प्रयोग भएको छ। १२ किमिको सुरुङ यो मेसिनले उक्त समयमा पुरा गरेको हो। गत वर्षको कात्तिकदेखि टीबीएम मेसिनको प्रयोग गरी सुरुङ खनिँदै आएको थियो।

नेपालमै पहिलोपटक टनेल बोरिङ (टीबीएम) मेसिनको प्रयोग गरी यो आयोजनाको सुरुङमार्ग खनिएको हो। यो मेसिनको प्रयोग पहिलो पटक यो आयोजनामा भएको हो। चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले अमेरिकी प्रविधिअन्तरगत चीनमा बनेको टनेल बोरिङ (टीबीएम) मेसिनको सफल प्रयोग यो आयोजनामा गरेको हो। सुरुङमार्ग निर्माणको लागत १० अर्ब ५५ करोड रुपैयाँ रहको भने आयोजनाको कुल लागत १६ अर्ब रुपैयाँ रहेको छ।

विकास निर्माणमा अघि बढ्न प्रविधिकाे खाँचो देखिएकोले अरु आयोजनाहरुमा पनि नयाँ प्रविधिको प्रयोग हुनुपर्ने सरकारी अधिकारीहरुको भनाई छ।

नेपालका हरेक आयोजनाहरु समयमा नसकिने समस्या रहँदै आएको छ। तर यो आयोजमा नयाँ प्रविधिको प्रयोगले समयमा नै सम्पन्न भएको हो। यसले के देखाउँछ भने नेपालमा प्रविधको आवश्यकता छ।

के हो टीबीएम मेसिन ?

अमेरिकी प्रविधिअन्तरगत चीनमा बनेको टनेल बोरिङ (टीबीएम) मेसिन हो। यो मेसिनको प्रयोग विशेष गरी सुरुङमार्ग खन्नको लागि गरिन्छ। यसले छिटो सुरुङमार्ग निर्माण गर्दछ।

परम्परागत प्रविधिभन्दा झण्डै ५ गुणा बढी सुरुङमार्ग निर्माण गर्छ। दैनिक ४ मिटर टनेल खन्न सकिन्थ्यो भने मेसिनको प्रयोग औसतमा २० दशमलव ८ मिटर टनेल खन्न सकिन्छ।

आयोजनाको काम कसरी अघि बढ्छ ?

आयोजनामा भेरी–बबई डाइभर्सन निर्माण कार्य सम्पन्न भएको र अब सुरुङमार्फत ४० क्युबिक लिटर प्रतिसेकेन्डका हिसाबले भेरीको पानी बबई नदीमा खसालिनेछ। जसबाट बबई नदीमा पानीको सतह बढनेछ। सिँचाइका लागि बबई नदीमा भेरीको पानी ल्याउन लागिएको हो। बबईमा पानी पर्याप्त भएपछि बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याइने सरकारी लक्ष्य रहेको छ।

सिँचाइका साथै यो आयोजनाबाट विद्युत् पनि उत्पादन गरिनेछ। यो बहुउद्देश्यीय आयोजनाबाट ४८ मेघावाट विद्युत् उत्पादन गर्ने सरकारी योजना रहेको छ। त्यसैै गरी बाँके र बर्दिया जिल्ला आसपासको झन्डै ५१ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाई सुविधा पु-याउने यो आयोजनाको मुख्य रहेको छ।

प्रकाशित मितिः   April 17, 2019 at 1:22 pm 


  • प्रतिक्रिया दिनुहोस्