काठमाडौं, ८ चैत ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन आज (शुक्रबार) देखि खुला भएको छ। ईपीएस शाखाका अनुसार बिहान ८ बजेसम्म अनलाइनमार्फत १५ हजारभन्दा धेरै जनाले आवेदन भरिसकेका छन्।

यसपटक ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा नबस्न ईपीएस शाखाले अनुरोध गरेको छ। घरमै बसेर अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिने शाखाले जनाएको छ।
भाषा परीक्षाका लागि चैत १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ। उक्त आवेदन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले दिन सक्नेछन्।
त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९ र ई–१० भिसामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ। ग्लोबल बैंकमा रहेको एकाउन्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा उक्त वेबसाइटमा मा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिन्छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको हो।
आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ। पोखरा केन्द्रको हकमा पहिला आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन्।
प्रकाशित मितिः March 22, 2019 at 11:25 am























कर्मसञ्चार । २०७५ चैत्र ८ गते शुक्रवार