
सुर्खेत । कर्णाली प्रदेशको प्रारम्भिक विपद्/मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को अनुमोदन गरिएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिबद्ध चरण–३ र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यशालामार्फत उक्त योजना अनुमोदन गरिएको हो । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ लाई अन्तिम रूप दिई अनुमोदन गर्न स्थानीय तह, जिल्ला तथा प्रदेशस्तरका सरोकारवालाहरूसँगको समीक्षा, परामर्श एवम् प्राविधिक छलफल गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख उत्तम गौतमले बताए । कार्यशालामा प्रदेश सरकारद्वारा तयार पारिएको विपद्सम्बन्धी नीति, योजना, मापदण्ड तथा मार्गदर्शनको प्रस्तुति पनि गरिएको थियो । सरोकारवालाहरूसँग विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव सङ्कलन गरिएको थियो । त्यस्तै, कार्यशालामा विपद् पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा राम्रो अभ्यास र अनुभवहरूको आदान प्रदान गरिएको थियो ।
पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजनाका कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ लाई अन्तिम रूप दिन गरिएको कार्यशाला गोष्ठीबाट योजना अनुमोदनमा सहयोग पुगेको बताए । उनले विषयगत क्षेत्रअनुसार समूह कार्य, त्यसबाट प्राप्त प्रमुख सिफारिस, सहमति र आगामी मार्गचित्रका बारेमा सहजीकरण गरेका थिए ।
कार्यशालामा सेभ द चिल्ड्रेनका सुर्खेत फिल्ड प्रमुख रत्नराज ओझाले अनुमोदित प्रतिकार्य योजनाले सरोकारवाला सबैलाई जिम्मेवार बनाएको भन्दै यसले यहाँको जोखिम न्यूनीकरण तथा नागरिक सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मितिः June 12, 2026 at 1:30 pm












कर्मसञ्चार । २०८३ जेष्ठ २९ गते शुक्रवार