विद्यालयमै पुगेर सचेतना

सुर्खेत, ९ असोज ।
बढ्दो लागूऔषधको प्रयोग रोक्न प्रहरीले विद्यार्थीलाई चेतनामूलक शिक्षा दिन थालेको छ । स्कुले उमेरका कलिला बालबालिका पनि लागूऔषधमा फस्ने गरेको पाईएपछि पश्चिम सुर्खेतको ईलाका प्रहरी कार्यालय बाबियाचौरले विद्यालयमै पुगेर चेतनामूलक कार्यक्रम थालेको हो ।
बालबालिकालाई लागूऔषध प्रयोग, उत्पादन, बिक्री वितरण तथा ओसारपसारमा संलग्न हुनबाट बचाउने उद्देश्यले आफूहरूले विद्यालयमा नै लागूऔषधविरुद्धको कक्षा चलाउने गरेको ईलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज (प्रहरी निरीक्षक) सुशोभन श्रेष्ठले बताए ।

लागूऔषधबारे सही जानकारी दिन सके भोलिका कर्णधार मानिएका विद्यार्थीले गाउँगाउँसम्म चेतना फैलाउने प्रहरीको निष्कर्ष छ ।

‘विद्यार्थीमार्फत लागूऔषधबारे जानकारी दिन सके परिवार र समाजलाई नै कुलतबाट बचाउन सकिने देखेर कक्षा सञ्चालन शुरु गरेका हौं,’ श्रेष्ठले भने,‘ पश्चिम सुर्खेतका अधिकांश विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सोचमा छौ ।’

लागूऔषधबारे सही जानकारी दिन सके भोलिका कर्णधार मानिएका विद्यार्थीले गाउँगाउँसम्म चेतना फैलाउने प्रहरीको निष्कर्ष छ । त्यसका लागि विद्यालयमा प्रहरी अधिकृतहरू आफैं पुगेर माथिल्ला कक्षाका विद्यार्थीसँग अन्तक्र्रिया तथा छलफल गर्ने गरेका छन् ।

यसैबीच, ईलाका प्रहरी कार्यालय बाबियाचौरले पञ्चपुरी नगरपालिका–२, पलौटेस्थित सूर्यप्रकाश माविमा अध्यनरत विद्यार्थीलाई मंगलबार लागूऔषधका असरबारे जानकारी गराएको छ ।

 

कक्षा ६, ७ र ८ का गरी दुई सय विद्यार्थीलाई यससम्बन्धि जानकारी दिइएको प्रहरीले जनाएको छ । चेतनामूलक कार्यक्रममा वडा अध्यक्ष जगतबहादुर विसी, विद्यालयका निमित्त प्रधानाध्यापक टीकाराम बास्तोला र अन्य शिक्षकहरूको उपस्थिति थियो ।

प्रकाशित मितिः   September 25, 2018 at 3:25 pm 


  • प्रतिक्रिया दिनुहोस्