
काठमाडौं । बाराको सिमरा विमानस्थलमा दुई पक्षबीच झडप भएको छ । झडपका हुँदा स्थिति तनावग्रस्त बनेको छ। बुधबार बिहानैदेखि सिमरा विमानस्थलमा जम्मा भएका जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङका अनुसार विमानस्थलमा साढे २ सय हाराहारी युवाहरू जम्मा भएका थिए। बाराकै परवानीपुरमा युवा संघले आयोजना गर्न लागेको जागरण सभालाई सम्बोधन गर्न एमाले महासचिव शंकर पोखरेल नेता महेश बस्नेत लगायतका नेताहरू जाने कार्यक्रम थियो। ‘सोही कार्यक्रमको विरोध र अवरोधका कार्यक्रम एयरपोर्ट एरियामै गरेपछि स्थिति तनावग्रस्त भयो,’ एसपी तामाङले भने। उनकाअनुसार एउटा समूहले अवरोध गरेपछि एमाले कार्यकर्ताहरू पनि विमानस्थल पुगेको थियो। त्यसपछि दुई समूहबीच झडप भएको हो। विमानस्थल क्षेत्रमै झडप हुँदा विमानस्थलको गेटमा क्षति पुगेको छ। विमानस्थल भित्र पनि ढुंगामुढा भएको छ। दुई पक्षबीच झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो। प्रहरीका अनुसार अहिले परिस्थिती नियन्त्रणमा छ। झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।























कर्मसञ्चार । २०८२ मंसिर ३ गते बुधवार