पत्रकार लक्ष्मण केसी पुरस्कृत

सुर्खेत । पत्रकार लक्ष्मण केसी पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्षसमेत रहेका केसीलाई ‘सहिद गणेश शाह स्मृति पत्रकारिता पुरस्कार- २०८२’ प्रदान गरिएको हो । मंगलबार रुकुम–पश्चिमको चौरजहारी नगरपालिका– ११ मा आयोजित सहिद गणेश शाहको ३१ औँ स्मृति दिवसको अवसरमा उनलाई पुरस्कारसहित सम्मान गरिएको छ ।
स्मृति सभामा केसीलाई सहिद गणेश शाहको श्रीमती तुलाकुमारी शाह, नेपाली काँग्रेस रुकुम–पश्चिमका सभापति प्रेमप्रकाश ओली, जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख यदुकुमार आचार्य, चौरजहारी नगर सभापति प्रेमबहादुर ओली लगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
पत्रकार केसीले पत्रकारिताका माध्यमबाट सामाजिक न्याय, लोकतन्त्रको सवलीकरण तथा कार्यान्वयन र ग्रामीण विषयवस्तुको उजागर गरेर समाज रुपान्तरणमा उच्च योगदान गरेको भन्दै नगद पुरस्कारसहित खादा ओढाएर सम्मान गरिएको थियो । लामो समयदेखि शिक्षा र सामाजिक विषयवस्तुका क्षेत्रमा कलम चलाउँदै आएका केसी हाल उजेली न्यूज अनलाइन पत्रिकाको सम्पादक हुन् । उनी झन्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । मुसीकोट नगरपालिका –१३ निवासी केसी नेपाल पत्रकार महासंघ रुकुम–पश्चिमका पूर्व अध्यक्षसमेत हुन् ।

प्रकाशित मितिः   September 3, 2025 at 4:01 pm 


  • प्रतिक्रिया दिनुहोस्