स्थानीय तहले बुझाएनन् खर्च विवरण

सुर्खेत, ६ भदौ ।
सुर्खेतका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् । असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भएपनि साउन मसान्त बितिसक्दा पनि विवरण बुझाएका छैनन् । कुन स्थानीय तहमा कति खर्च भयो र कति रकम फ्रिज भयो थाहा हुन नसकेको कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक लोकप्रसाद पौडेलले जानकारी दिए ।

नौ स्थानीय तहमा सात अर्ब ७८ करोड २८ लाख ४९ हजार निकाशा गरिएको थियो ।

जिल्लामा नौ स्थानीय तह छन् । ‘रकम निकाशा सबै भयो, तर खर्च भयो भएन थाहा भएन,’ उनले भने । नौ स्थानीय तहमा सात अर्ब ७८ करोड २८ लाख ४९ हजार निकाशा गरिएको थियो । वीरेन्द्रनगर नगरपालिकालाई ६९ करोड ७० लाख ८० हजार, गुर्भाकोटलाई ४७ करोड १२ लाख ७९ हजार, भेरीगङ्गालाई ३९ करोड ८२ लाख ३२ हजार, पञ्चपुरीलाई ३८ करोड १८ लाख ३७ हजार तथा लेखबेशी नगरपालिकालाई ३४ करोड १३ लाख १८ हजार निकाशा गरिएको थियो ।
कोष नियन्त्रक पौडेलका अनुसार सिम्ता गाँउपालिकालाई ३४ करोड ५६ लाख ४७ हजार, बराहताललाई ३४ करोड ९६ लाख १८ हजार, चौकुनेलाई ३१ करोड ८२ लाख ८९ हजार तथा चिङगाड गाउँपालिकालाई २३ करोड ८५ लाख २८ हजार निकाशा गरिएको थियो । ढिलो अख्तियारीका कारण ठूलो मात्रामा बजेट फ्रिज हुने गरेको छ ।

प्रकाशित मितिः   August 22, 2018 at 7:38 pm 


  • प्रतिक्रिया दिनुहोस्