
सुर्खेत । सुर्खेतमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागु गरिने भएको छ । पहिलो चरणमा यहाँका चारवटा पालिकामा सङ्क्रमण रोगहरूको सुक्ष्म निगरानी प्रणाली लागू गर्न लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, पञ्चपुरी नगरपालिका र गुर्भाकोट नगरपालिकाभित्र ५२ प्रकारका सङ्क्रमण रोगहरूको सुक्ष्म निगरानी गरिने भएको छ ।
जिल्लामा सङ्क्रमण रोगहरूको सुक्ष्म निगरानी प्रणाली सुरू गर्नका लागि केही दिन पहिले कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्का र पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यकारी निर्देशक डा.जनक थापाबीच सहकार्य तथा समन्वयका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । निर्देशक डा.खड्काले नेपाल सरकारले तोकेको ५२ प्रकारको महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्नुका साथै त्यसको समाधान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुन लागेको जानकारी दिए ।
रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका २२ जिल्लाका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्दैछ । ती ४४ स्थानीय तहका ६ सय ६२ वटा वडामा कार्यक्रम सञ्चालन हुने बताइएको छ । पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका एसडीसी अफिसर सुशान्त लुईटेलका अनुसार पहिलो चरणमा यो कार्यक्रम लागु हुने सुर्खेतका चार पालिकाका आमा समूह, टोल समूह, विद्यालय नर्स, शिक्षक, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच अभिमुखिकरण गरिनेछ ।
सुर्खेतका चार पालिकामा यस कार्यक्रम कार्यान्वयनको लागि हरेक वडामा २५ जनाको इपिडेमिक इन्टिलिजेन्स भोलेन्टियर टिम गठन हुने सुर्खेत प्रतिनिधि तथा जिल्ला कार्यक्रम अधिकृत सविता बुढाथोकीले बताइन् । यसका साथै महिला स्वास्थ्य स्वयंमसेविका, शिक्षक, नीजि फार्मेसी सञ्चालक, जनप्रतिनिधिसहितको टिमलाई आवश्यक तालिम प्रदान गरी रोग निगरानी तथा निरीक्षणमा परिचालन गरिनेछ । जिल्लामा कुनैपनि प्रकारका सङ्क्रमण रोगहरु देखा परेमा नजिकको स्वास्थ्य चौकी वा हेलो स्वास्थ्यको टोलफ्रि नं. १११५ मा सूचना प्रवाह गर्न सबै नागरिकलाई सक्षम बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ । सुर्खेतमा यो कार्यक्रम २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मितिः September 3, 2025 at 5:22 pm


कर्मसञ्चार । २०८२ भाद्र १८ गते बुधवार