
सुर्खेत, १० माघ ।
सुर्खेतको एक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । १८ महिने पशु विज्ञान विषय अध्यापन गराइरहेको वीरेन्द्रनगर–११ धुलियाविटको शिव माध्यमिक विद्यालयले विद्यार्थीहरुको शिक्षण सिकाईमा सहजता ल्याउन क्लिनिक सञ्चालन गरेको हो ।
विद्यार्थीको सिकाईसँगै गाउँका कृषकलाई सस्तो र सूलभ सेवा दिनका लागि पशु स्वास्थ्य क्लिनिक संचालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले जानकारी दिए । क्लिनिकबाट कृषकहरुलाई पशु स्वास्थ्यसम्बन्धि निशुल्क प्राविधिक सल्लाह, पशुहरुको स्वास्थ्य परीक्षण, औषधि, कृत्रिम गर्भाधारणलगायतका सेवा दिने जनाएको छ ।
‘विद्यार्थीहरुको पढाईमा सहयोग पुग्ने र अभिभाकहरुलाई पनि सेवा दिने उद्देश्यले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको हो, विद्यालयका प्रधानाध्यापक पौडेलले भने, ‘हामीले यसका लागि पशु डाक्टरको पनि व्यवस्था गरेका छौँ । अब विद्यालयले छिट्टै गाई फर्मलगायतका पशुपालन फर्महरु संचालनको तयारीमा लागेको उनले बताए ।
पशुविज्ञान विषय पढिरहेका विद्यार्थीहरुलाई विद्यालयले ३ प्रतिशत ऋण दिएर पशुपालन व्यवसायमा लगाउने योजना रहेको पनि उनले जानकारी दिए । यस विद्यालयमा हाल १८ महिने पशु विज्ञान विषयमा ३५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । यहाँ सुर्खेतसहित जुम्ला, डोल्पा, कालिकोट, हुम्ला र जाजरकोटका विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित मितिः January 24, 2019 at 6:02 pm























कर्मसञ्चार । २०७५ माघ १० गते बिहीवार