भूमि विधेयक पारित गर्ने तयारी


काठमाडौंः भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने तयारी गरेको छ । संसदीय समितिले आज उक्त विधेयक पास गर्न लागेको हो । यसका लागि प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ । जहाँ भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
गत बिहीबार समितिले साँढे पाँच घण्टासम्म छलफल गरेर विधेयकमाथिको दफावार छलफल सकाएको थियो । समितिमा भएको छलफल र सांसदहरूले राखेका संशोधन प्रस्तावलाई आधार बनाएर विधेयकको प्रतिवेदन तयार पार्ने जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वनत तथा वातावरण मन्त्रालय र संसदीय समितिको सचिवालयलाई दिइएको छ ।
प्रस्तावित विधेयकमा भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन गर्ने प्रस्ताव छ । विधेयकका अधिकांश विषयमा सांसदहरूको संशोधनको मर्म अनुसार भाषा मिलाउने भनेर छाडिएको थियो । आज विधेयकको प्रतिवेदन तयार भएर प्रस्तुत हुनेछ । त्यसमाथि छलफल गरेर विधेयक पारित गर्ने तयारी समितिको छ ।

प्रकाशित मितिः   August 10, 2025 at 11:28 am 


  • प्रतिक्रिया दिनुहोस्