
सुर्खेत, १८ असोज ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले कर्णालीका जङ्गलमा पाइने खाद्यफलमा अनुसन्धान गर्ने भएको छ । नाष्टले सुर्खेतको वीरेन्द्रनगरमा ‘जङ्गली खाद्यफल तथा च्याउसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम’को आयोजना गरी कर्णालीका जङ्गलमा खेर गइरहेका जङ्गली खाद्यफल तथा च्याउको अध्ययन तथा अनुसन्धान गर्ने बताएको हो ।
‘जङ्गली खाद्यफल तथा च्याउका लागि साविकका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्र उर्वरभूमि हुन्,’ वरिष्ठ वैज्ञानिक डा.लोकरञ्जन भट्टले भने, ‘जङ्गली खाद्यफल तथा च्याउको अध्ययन तथा अनुसन्धान गरी व्यावसायीकरण गरेर कर्णालीलाई धनी बनाउन सकिन्छ ।’ उनले यस क्षेत्रमा खेर गइरहेका चुथ्रो, ऐंसेलु, काफल, मयल, डाले चुकलगायतको व्यावसायिक उत्पादन गरी विदेश निर्यात गर्न सकिने सम्भावना रहेको जिकिर गरे ।
‘कर्णालीको भूगोल र हावापानी नहेरी विनापरीक्षण आयात गरिएका फलफूल तथा बिरुवाले हानिनोक्सानी पु¥याउन सक्छ,’ उनले भने, ‘माटो तथा हावापानी असुहाउँदो फलफूल तथा खानेकुुराको प्रयोगबाट फाइदाभन्दा बेफाइदा बढी हुन्छ ।’ अज्ञानका कारण अहिले स्थानीय फलफूल तथा अन्नपात प्रतिस्थापन हुुनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
अर्का वरिष्ठ वैज्ञानिक डा. जयकान्त रावतले नेपालको पूर्वीक्षेत्रको तुलनामा च्याउसम्बन्धी अध्ययन तथा अनुसन्धान पश्चिम नेपालमा हुन नसकेको बताए । कर्णालीमा जङ्गली खाद्यफल तथा च्याउ कति छ, के कस्ता प्रकारका छन् र तिनको व्यावसायिक उत्यादन कति गर्न सकिन्छ भन्ने हालसम्म कुनै तथ्याङ्क नभएको उनको भनाइ छ ।
उनले भने, ‘अध्ययन तथा अनुसन्धानबेगर कुनै पनि कुराको यकिन गर्न गाह्रो हुने भएकाले कर्णालीका सरोकारवालासँग अन्तरक्रियामार्फत ती वस्तुहरूका बारेमा जानकारी हुनु पनि हाम्रो उद्देश्य हो ।’ जङ्गली खाद्यफल तथा च्याउभन्दा पनि बाहिर प्रचारमा नआएको तर सम्भावना बढी भएका उत्पादन पनि कर्णालीमा धेरै हुन सक्ने उनको भनाइ थियो ।
उनले पहिचानको अभावमा अहिले अवैज्ञानिक तथा अव्यवस्थित तरिकाले च्याउको जथाभावी सङ्कलन तथा नष्ट गरिँदा कतिपय प्रजाति सङ्कटमा रहेको बताए । उनका अनुसार अहिले पनि नेपाली च्याउले विदेशी बजारमा राम्रै स्थान पाइरहेको छ ।
कार्यक्रमका सहभागी सरोकारवालाहरूले कर्णालीमा पाइने विभिन्न फलफूल तथा जडीबुटीहरूको वैज्ञानिक अध्ययन तथा अनुसन्धान नहुँदा व्यवसायीकरण हुन नसकेको गुनासो गरेका छन् ।
प्रकाशित मितिः October 4, 2018 at 12:23 pm






कर्मसञ्चार । २०७५ असोज १८ गते बिहीवार