
काठमाडौंः नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ पदमुक्त भएकी छन् । पार्टी संरक्षक समेत रहेका उनका श्रीमान रेशम चौधरी पक्षीय बहुमत केन्द्रीय सदस्यहरूले हटाउनेगरी प्रस्ताव पारित गरेका हुन् । यससँगै उनी अध्यक्ष पदबाट पदमुक्त हुने भएकी हुन् । तर, पार्टीले निर्णय लिइसके पनि कानुनी बाध्यता र निर्वाचन आयोगले गर्नसक्ने निर्णयलाई आधार बनाएर थप निर्णय भोलिमात्रै हुने नाउपाका पार्टीका नेताहरूले बताएका छन् । श्रेष्ठले केही दिनपहिले रेशम चौधरीलाई पार्टी सदस्य हुनसमेत अयोग्य भन्दै अदालतमा जवाफ पेस गरेकी थिइन् । पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा लिखित जवाफ पेस गर्दै भनेकी थिइन्, ‘जन्मकैदको सजाय भोगी कारागारमा बसेको अवस्थामा राजनैतिक दलको सदस्यता प्रदान हुने अवस्था थिएन र छैन । महाधिवेशनबाट केन्द्रीय अध्यक्ष चुनिने कुरा त परै जाओस् निजले संगठित सदस्यता प्राप्त गरी महाधिवेशनमा भाग लिन पाउने अवस्था समेत छैन ।’
पार्टी संरक्षक चौधरीले २०८० पुसमा भएको पहिलो महाधिवेशन अनुसारको कार्यसमितिले मान्यता पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत गएपछि पूर्वमन्त्री रञ्जिताले अदालतलाई उक्त लिखित जवाफ पेस गरेकी हुन् । निर्वाचन आयोगले पहिलो महाधिवेशनबाट रेशमलाई अध्यक्ष बनाउने निर्णय अस्वीकार गरेको थियो । त्यसविरुद्ध रेशम अदालत गएपछि रञ्जिताले लिखित जवाफ दिएकी थिइन् । रञ्जिताले पार्टी सदस्य समेत हुन अयोग्य भनी परिभाषित गरेका उनै रेशमले अध्यक्षबाट रञ्जितालाई बुधबार हटाइदिने प्रस्ताव पारित गराएका छन् । रेशमले जेलभित्रैबाट पार्टी गठन गरी १९ पुस २०७८ मा निर्वाचन आयोगमा दल दर्ता गर्दा रञ्जितालाई अध्यक्ष बनाएका थिए । पदमुक्त गर्नुअघि रन्जितालाई स्पष्टिकरण सोधिएको थियो । तर, मंगलबारसम्म उनको स्पष्टीकरण नआएपछि राष्ट्रिय भेलामार्फत बुधबार उनलाई पदमुक्त गर्ने प्रस्ताव पारित गरिएको हो ।
प्रकाशित मितिः July 31, 2025 at 5:15 pm













कर्मसञ्चार । २०८२ साउन १५ गते बिहीवार