
सुर्खेत । कर्णाली प्रदेशमा युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । विज्ञान, प्रविधि, खोज तथा अनुसन्धानका क्षेत्रमा सक्रिय विभिन्न व्यक्ति एवम् निकायको सहभागितामा सुर्खेतको वीरेन्द्रनगरमा शनिवार सम्मेलन आयोजना गरिएको हो । सामाजिक विकास मन्त्रालयको आयोजना तथा ग्लोबल सस्टेनेबल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विज्ञान शिक्षक, विद्यार्थी, युवा वैज्ञानिक तथा शिक्षा क्षेत्रका विज्ञहरू सहभागि थिए ।
सम्मेलनको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले ‘कर्णालीको सामाजिक दृष्टिकोणः विज्ञान प्रविधि तथा नवप्रवर्तनमा तत्काल आवश्यकता’ शीर्षकको प्रस्तुतिकरण राखे । उनले कर्णालीमा समस्या मात्र नभइ थुप्रै सम्भावना रहेको बताउँदै यो प्रदेश सभ्यता र संस्कृतिको भूमि भएको बताए । मन्त्री भण्डारीले आफूहरूले कर्णालीमा डिजिटल पूर्वाधार निर्माणका प्रयास गरिरहेको जनाए । ‘यहाँको परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्न सके धेरै उपलब्धिहरू हासिल गर्न सकिने अवस्था छ,’ उनले भने । कर्णालीमा अझै पनि लगानीमैत्री वातावरण बनाउन नसकिएकाले समग्र विकासको गतिमा त्यसको असर परिरहेको उनले बताए । मन्त्री भण्डारीले कर्णालीको सम्भावनाबारे खोज तथा अनुसन्धान गरी योगदान गर्न विज्ञहरूलाई आह्वान गरे । उनले विज्ञान–प्रविधि र नवप्रवर्तनलाई कर्णालीको विकाससँग जोड्ने प्रतिबद्धतासमेत जनाए ।

त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ डा. दिनेशराज भुजुले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा क्रियाशील जनशक्तिलाई अवसर दिएर प्रोत्साहन गर्नुपर्ने बताए । ‘समृद्ध कर्णालीको आधारः विज्ञान प्रविधि तथा नवप्रवर्तन’ शीर्षकमा आफ्नो प्रस्तुति राखेका उनले कर्णालीको सम्भावनाबारे औल्याउँदै इच्छा शक्ति भए थुप्रै काम गर्न सकिने उल्लेख गरे । ‘प्राकृतिक स्रोत हुँदैमा कोही मुलुक धनी हुँदैन,’ उनले भने, ‘त्यसका लागि स्रोतको अधिकतम् प्रयोगमा जोड दिनुपर्दछ ।’ विज्ञानको केन्द्रविन्दु ज्ञान भएको भन्दै उनले प्रविधि ज्ञानको व्यावहारिक प्रयोग भएको बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव रोशनी श्रेष्ठले कर्णाली खोज र अनुसन्धानको उर्वर भूमि भएको बताइन् । उनले प्रदेश सरकारले डिजिटल पूर्वाधारको विकासका लागि आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाएको जनाइन् । यसैगरी, शैक्षिक नेतृत्वकर्ता विष्णुप्रसाद ढकालले विद्यालयलाई अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सम्मेलनमा विज्ञान र नवप्रवर्तनसम्बन्धी विभिन्न प्राविधिक सत्रहरू सञ्चालन गरिएका थिए । यस्तै, विद्यार्थी तथा युवा वैज्ञानिकहरूले आविष्कार र उत्पादन गरेका प्रविधिसँगै विभिन्न सामग्रीहरू प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा विज्ञान, प्रविधि, अनुसन्धान र शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । छनोट समितिको सिफारिसका आधारमा डा. निरज केसीलाई ‘कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार’ प्रदान गरिएको छ । उनले सार्वजनिक स्वास्थ्य, पोषण, जलवायु परिवर्तन तथा अनुसन्धानका क्षेत्रमा गरेको योगदानको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

यस्तै, विज्ञान शिक्षामा दीर्घकालीन योगदान पु-याउने शिवशंकर सिंह, चुडामणि केसी, भोजराज ढकाल, उपेन्द्र शाह, रामविलास यादव, प्रा.डा. केशर सिंह राना र उपप्राध्यापक डा. तारणीप्रसाद यादवलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरिएको छ । त्यस्तै, डा. अनुप बस्नेत, डा. पुष्पराज आचार्य, डा. ज्ञानप्रसाद पौडेल, डा. रामसुरेश यादव, डा. दिक्पालकुमार शाही र डा. विजय पण्डितलाई विज्ञान, अनुसन्धान तथा उच्च शिक्षामा पु-याएको योगदानको कदर गर्दै ‘विज्ञान तथा प्रविधि योगदान सम्मान’ प्रदान गरिएको छ । सम्मेलनले कर्णाली प्रदेशमा विज्ञान, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकास गर्दै सबै क्षेत्रबीच सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ ।


कर्मसञ्चार । २०८३ असार २१ गते आइतवार