कांग्रेस–एमाले छलफलः मन्त्री हेरफेरबारे भएन चर्चा

काठमाडौंः नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल भएको छ । सत्तारुढ दुई दलका नेताहरु बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेका हुन् । बैठकमा संसद्मा विचाराधीन विधेयकहरू, कानून संशोधनका विषयहरूबारे महान्यायाधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ । स्रोतका अनुसार, आजको बैठक विशेषगरी कानून संशोधनकै विषयमा केन्द्रित थियो । मन्त्रिपरिषद् हेरफेरबारे भने बैठकमा छलफल नभएको बताइएको छ ।
‘मन्त्रिपरिषद् हेरफेरबारे आजको बैठकमा कुनै छलफल नै भएन’ बैठक स्रोतले भन्यो, ‘मन्त्री हेरफेरको एजेन्डा पनि थिएन ।’ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडाल सहभागी थिए ।

प्रकाशित मितिः   July 31, 2025 at 4:44 pm 


  • प्रतिक्रिया दिनुहोस्