प्रहरीको निशानामा घरेलु रक्सी

सुर्खेत, ८ असोज ।
चाडपर्व नजिकिदैं गर्दा घरेलु रक्सीमा प्रहरीले विशेष निगरानी बढाएको छ । ईलाका प्रहरी कार्यालय बाबियाचौरले सोमबार पञ्चपुरी नगरपालिका–८ दुलालफाईबाट अवैध घरेलु रक्सी बरामद गरेको छ । प्रहरीले ९० लिटर तयारी मदिरा, २५० लिटर मदिरा उत्पादन गर्न राखिएको कच्चा पदार्थ र ६ थान भाडा बरामद गरेको हो ।

उक्त मदिरा स्थानीय जनप्रतिनिधि तथा समाजका अगुवाहरूको रोहबरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज (प्रहरी निरीक्षक) सुशोभन श्रेष्ठले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालयले चाडपर्व लक्षित गरी अवैध घरेलु मदिरा नियन्त्रण गर्न अप्रेसन थालेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । ‘मदिराका कारण समाजमा झैझगडा, घरेलु हिंसा र दुर्घटना हुने हुँदा अवैध मदिरालाई नियन्त्रण गर्ने अभियान थालेका हौं,’ उनले भने । अवैध घरेलु मदिराका कारण समाजमा अपराधिक घटनाहरू बढ्ने गरेको भन्दै मदिरा नियन्त्रण गर्न निगरानी बढाएको उनले बताए ।

पश्चिम सुर्खेतमा घरेलु मदिराको कारोबार अत्याधिक हुने गरेको छ । होहल्ला, गुडागर्दी तथा आपराधिक गतिविधि मदिराकै कारण बढी हुने भएकाले घरेलु मदिरालाई निशानामा राखेको प्रहरीले जनाएको छ ।

 

यो पनि,

https://karmasanchar.com/2018/09/1317/

प्रकाशित मितिः   September 24, 2018 at 1:44 pm 


  • प्रतिक्रिया दिनुहोस्