भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी

काठमाडौंः पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख धरौटीमा छुटेका छन् । नेपालले बुधवार बैंक ग्यारेन्टी बुझाएर विशेष अदालतबाट बाहिरिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाललाई संलग्नता किटान गर्दै मुद्दा दायर गरेको थियो । विशेष अदालतले नेपाललाई ३५ लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझेर धरौटीमा छाड्न आदेश दिएको थियो ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटी मागेको हो । विशेष अदालतले मन्त्रिपरिषद्को निर्णयका आधारमा हदबन्दी छुटको जग्गा सट्टापट्टा र किनबेच भएको भन्दै मन्त्रिपरिषद्को अध्यक्षता गर्ने पूर्वप्रधानमन्त्री नेपाललाई साधारण तारिखमा छाड्न इन्कार गरेको छ ।
विशेषले नेपालको तत्कालीन पदीय हैसियत र भूमिका समेतलाई मध्यनजर गरिएको भन्दै धरौटी तोकेको हो । धरौटीमा छुटेका पूर्वप्रधानमन्त्री नेपाललाई विशेषले साउन १३ गते तारेखमा उपस्थित हुन भनेको छ ।
विशेष अदालतले आदेशमा भनेको छ, ‘कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने र खरिद गरेको जग्गाहरू जुन प्रयोजनको लागि खरिद भएको हो, त्यसमा प्रयोग नगर्दै अन्य व्यक्ति विशेषलाई बिक्री वितरण समेत गर्न पाउने गरी प्रतिवादी तत्कालिन मन्त्रिपरिषद्ले गरेका निर्णयहरु विशुद्ध नीतिगत निर्णयको परिधिमा पर्ने हो वा होइन भन्ने प्रश्नको विषयमा मुद्दाको अन्तिम निर्णय हुँदा निरूपण हुने ।’

प्रकाशित मितिः   June 26, 2025 at 7:24 am 


  • प्रतिक्रिया दिनुहोस्