
सुर्खेतः कर्णालीमा विपद् जोखिम क्षेत्रमा रहेका निजी आवासीय घरहरूको बीमा गरिएको छ । कर्णाली प्रदेश सरकाले पहिलो चरणमा १५ वटा स्थानीय तहका १६ हजार ७२ घरको बीमा गरेको हो । सोमबार एक कार्यक्रमकाबीच स्थानीय तहलाई बीमा पोलिसी हस्तान्तरण गरिएको छ ।
बीमा कार्यक्रम शुभारम्भ गर्दै कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विपद्को उच्च जोखिममा रहेका नागरिकहरूको घरको सुरक्षाका लागि बीमा कार्यक्रम सञ्चालन गरिएको बताए । ‘प्राकृतिक विपद्लगायतका भवितव्यबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति गर्न निजी घरहरूको बिमा भएको छ,’ उनले भने, ‘नागरिकको सम्पत्ति सुरक्षाका लागि यो महत्वपूर्ण कार्यक्रम हो ।’ उनले स्थानीय तहलाई यस कार्यक्रममा अग्रसरता लिनसमेत आग्रह गरे ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार बिमा गरिएका घरहरुको कुल बिमांक रकम साढे ११ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । प्रदेशका १० जिल्लाका २३ वटा स्थानीय तहले कार्यक्रममा सहभागी हुन प्रतिबद्धता जनाएका थिए । नेपाल बिमा प्राधिकरणले छनोट गरी पठाएका बिमक कम्पनीहरूले घरहरूको मूल्याङ्कन गरेपछि समयमै विवरण बुझाउने १५ स्थानीय तहका घरहरूको बीमा गरिएको हो ।
कर्णाली प्रदेश प्राकृतिक विपद्को उच्च जोखिममा छ । विपद्का दृष्टिकोणले निकै संवेदनशील भूगोल भएकाले यहाँ बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ । सोही समस्यालाई मध्यनजर गरी कर्णाली सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेटमार्फत यो नवीनतम् कार्यक्रम अघि सारेको हो । ‘घर बीमा कार्यक्रम सम्बन्धी कार्यविधि, २०८१’ मन्त्रिपरिषद्बाट गत फागुन १३ गते स्वीकृत भएको थियो । कार्यविधिअनुसार, प्रतिघर अधिकतम २० लाख रुपैयाँसम्मको बिमा प्रिमियम प्रदेश सरकारले व्यहोर्नेछ भने त्योभन्दा बढीको बिमांकका लागि घरधनी स्वयंले प्रिमियम तिर्नुपर्नेछ । मन्त्रालयका सचिव पुष्पराज शाहीले हालसम्म प्रिमियमबापत कुल ९८ लाख २४ हजार ८९३ रुपैयाँ भुक्तानी भएको बताए । चालु आर्थिक वर्ष २०८२/८३ मा घर बीमा कार्यक्रमका लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्षमा घर बीमामा समावेश नभएका स्थानीय तहलाई चालु आर्थिक वर्षमा समेटिनेछ । यो बिमा कार्यक्रमले भूकम्प, बाढी–पहिरो, डुवान, आगलागी, हावाहुरी, चट्याङजस्ता विभिन्न जोखिमबाट हुने क्षतिलाई समेट्ने बताइएको छ ।
बीमा शुभारम्भ कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले प्रदेश सरकारको यो कदमले विपद् जोखिममा रहेका नागरिकलाई ठूलो राहत मिलेको बताएका छन् । कार्यक्रम कार्यान्वयनका लागि आफूहरूको पूर्ण सहयोग र समन्वय रहने उनीहरूले प्रतिबद्धता जनाएका छन् ।
यस्तो छ, पहिलो चरणमा बीमा भएका स्थानीय तह र घरधुरीको विवरणः
-शारदा नगरपालिका सल्यान–४७०७
-बराहताल गाउँपालिका सुर्खेत–२४६९
-सिंजा गाउँपालिका जुम्ला–१५४५
-छाँयानाथ रारा नगरपालिका मुगु–१३११
-गुर्भाकोट नगरपालिका सुर्खेत–९१६
-बारेकोट गाउँपालिका जाजरकोट–७३३
-महाबै गाउँपालिका कालिकोट–६८०
-खार्पुनाथ गाउँपालिका हुम्ला–६६१
-तिलागुफा नगरपालिका कालिकोट–६५५
-पलाँता गाउँपालिका कालीकोट–६४३
-जगदुल्ला गाउँपालिका डोल्पा–६४०
-ठाँटीकाँध गाउँपालिका दैलेख–५२६
-त्रिवेणी गाउँपालिका रुकुम पश्चिम–३३९
-लेकबेशी नगरपालिका सुर्खेत–२६५
-सानीभेरी गाउँपालिका रुकुम पश्चिम–२१२
प्रकाशित मितिः July 29, 2025 at 11:20 am













कर्मसञ्चार । २०८२ साउन १३ गते मंगलवार