पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णय

काठमाडौंः नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । एमालेको मंगलवार सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीलाई राजनीतिमा सक्रिय हुनबाट रोकेको हो ।
यस्तो निर्णय गरेको हो । बैठकको समापनमा बोल्ने क्रममा पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाए ।
एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक लगाएसँगै अब विद्या के गर्लिन् भन्ने चासो देखिएको छ । उनी निकट नेताहरु भण्डारीले राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्नुपर्ने बताएका छन् । भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन प्रतिबन्ध लगाएपछि उनले नवीकरण गरेको भनिएको पार्टी सदस्यता स्वतः रद्द भएको छ ।
राज्यको सर्वोच्च पद (राष्ट्रपति) बनिसकेको व्यक्तिलाई राजनीतिमा फर्काएर पार्टी कार्यकर्तामा सीमित गर्दा संविधानको मर्म र भावनाको अपमान हुने तर्क एमालेको छ ।
बुधबार बिहान सार्वजनिक गरिका बैठकका निर्णयमा लेखिएको छ, ‘मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन ।’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आए ‘जनता, प्रणाली, व्यवस्था र संविधानको मर्म तथा भावनामा गलत अभ्यास हुने ठहर एमालेको छ ।
उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे,युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखेका थिए । उनीहरुले यसलाई राजनीति गर्न पाउने नैसर्गिक अधिकारलाई रोक्न खोजेको र जनताको बहुदलीय जनवाद (जबज)को विरुद्ध पनि भएको भन्दै असहमति जनाएका हुन् । स्थायी कमिटी सदस्य थापाले यो निर्णयको राजनीतिक रुपमा प्रतिवाद गर्ने बताएका छन् । उनी भन्छन्, ‘जे निर्णय भएको छ, शतप्रतिशत गलत भएको छ । हामी त्यसको राजनीतिक रुपमा प्रतिवाद गर्छौं ।’

प्रकाशित मितिः   July 23, 2025 at 12:26 pm 


  • प्रतिक्रिया दिनुहोस्