
काठमाडौं, २८ पुस ।
थाईल्यान्डमा शनिबारबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको छ।
करुणा भण्डारीले बलिङमा तीन विकेट र सिता रानामगरले ब्याटिङमा नटआउट २४ रन रनको पारी खेलेसँगै नेपालले चीनले दिएको ४९ रनको सामान्य लक्ष्य ८.४ ओभरमा कुनै विकेटको क्षतिमा पुरा गरेको थियो।
ओपनर सिता २५ बलमा ३ प्रहार गर्दै नटआउट रहिन् भने अर्की ओपनर काजल श्रेष्ठले १४ रन जोडिन्। २९ बल खेलेकी उनले १ चौका प्रहार गरिन्।
त्यसअघि एसियन इन्स्टिच्यूट टेक्नोलोजीको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रनमात्रै बनाउन सकेको थियो।
उसका झांग चानले सर्बाधिक १३ बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। यस्तै वाङ लुवान्याउले ८, झांग याङ्लिङले र ली होयोले समान ७-७ रन जोडे।
करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएपछि चीनले थप योगफल तयार पार्न सकेको थिएन्। उनीसँगै नेरी थापाले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर २ विकेट लिइन्।
त्यस्तै सिताराना मगरले एक विकेट लिइन्। प्रतियोगितामा नेपालले दोस्रो खेल आइतबार मलेसियासँग खेल्ने छ।
थाइल्याण्ड क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता १८ तारिखसम्म चल्नेछ। प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्याण्ड, तान्जिनिया, हङकङ, भुटान, इन्डोनेसिया, मलेसिया, कुवेत, एसएल नेभी र नामिबिया प्रतिस्पर्धा गर्दैछन्।
नेपाली टोलीमा कप्तान रुबिना क्षेत्रीसँगै सिताराना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, बिन्दु रावल, र ममताकुमारी चौधरी छन्। महिला टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन्।
प्रकाशित मितिः January 12, 2019 at 4:15 pm













कर्मसञ्चार । २०७५ पुष २८ गते शनिवार