शुरु भयो ‘क्लिन सुर्खेत’

सुर्खेत, २७ साउन ।
वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली शहर बनाउन ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियान शुरु गरिएको छ । व्यवसायी र स्थानीयको लापरबाहीले थुप्रिने फोहोर व्यवस्थापन गर्न वीरेन्द्रनगर–६ वडा कार्यालयले विभिन्न संस्थाको सहकार्यमा नयाँ अभियान शुरु गरिएको हो । वाइन्स फाउण्डेशन सुर्खेतको आयोजनामा शनिबारदेखि अभियान थालिएको छ । नगरलाई स्वच्छ, सफा र हरियाली सहरको रुपमा विकास गर्ने उद्देश्यले अभियानको थालनी गरिएको वाइन्स फाउण्डेशनका अध्यक्ष डाक्टर नवराज केसीले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरका सडकको फोहोर उठाउने मात्र नभइ फोहोरी मानसिकताको अन्त्य गर्न नगरवासीको सहभागितामा अभियान थालिएको हो ।
अभियान अन्र्तगत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई परामर्श गर्दै शनिबार नै वीरेन्द्रनगरको वडा नम्बर ६ मा सरसफाई गरिएको छ । फाउण्डेशनले क्लिन क्लब सञ्चालनमा ल्याएर फोहोरी बानीलाई हटाउने केसीको दावी छ । बालरोग विषेशज्ञ समेत रहेका डा. केसीले बर्षायाम शुरु भएसँगै मौसमी रोगहरु बढेको र त्यसको प्रमुख कारण घर वरपरको फोहोर नै भएको बताए । वीरेन्द्रनगर–६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले ‘गो क्लिन, गो ग्रिन सुर्खेत’ अभियानमा वडा कार्यालयको पूर्ण साथ रहने प्रतिवद्धता जनाए । अभियानमा वडा नम्बर ६, वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१८, उषा बालबाटिका माध्यामिक विद्यालय, शान्तिनगर टोल विकास संस्था, सुर्खेत महिला जेसीज, फ्यूचर नेपाल, क्यान सुर्खेतका साथै विभिन्न लियो तथा लायन्स क्लव लगायतले सहभागिता जनाएका छन् ।

प्रकाशित मितिः   August 12, 2018 at 11:55 am 


  • प्रतिक्रिया दिनुहोस्