
सुर्खेतः मध्यपश्चिम विश्वविद्यालय (एमयु) को १७औं सभाको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपियाँको बजेट पारित गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ रु. ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु. ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।
प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को आम्दानी तथा खर्च अनुमोदन, आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम र कार्यकारी परिषद् सदस्य मनोनयन सम्बन्धी प्रस्तावहरु पेस गरिएको थियो । यी तीन वटै प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन् । यस्तै, विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा ग्य्राजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका उप–प्राध्यापक नारायण नाथ योगीलाई मनोनित गरिएको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति रघुजी पन्त र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलको आतिथ्यता रहेको थियो । यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्याल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजुकुमार थपलिया, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौड्याल, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलगायत विश्वविद्यालयका सभासदहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः July 14, 2025 at 5:15 pm


कर्मसञ्चार । २०८२ असार ३० गते सोमवार