लागुऔषध नियन्त्रमा बढ्यो प्रहरी सक्रियता

दुई महिनामा सुर्खेतमा लागुऔषधसहित ४४ जना पक्राउ

सुर्खेतः सुर्खेतमा प्रहरीले लागुऔषध नियन्त्रणमा निगरानी बढाएको छ । यहाँ पछिल्लो दुई महिनाको अवधिमा मात्र ७ किलो लागुऔषध बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लागुऔषधसहित ४४ जना पक्राउ परेका छन् ।
सुर्खेत प्रहरीले समाजमा हुने आपराधिक घटना तथा गतिविधिलाई नियन्त्रण गर्न चेकजाँचमा कडाइ गरेको छ । प्रहरीको सक्रियता र निगरानीका कारण पछिल्ला दिनमा ठूलो मात्रामा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यायले सुर्खेतका प्रमुख (प्रहरी उपरीक्षक) सुधीरराज शाहीले बताए । ‘दुई महिनाको अवधिमा हामीले करिब सात किलोग्राम लागुऔषध बरामद गरेका छौं,’ प्रहरी उपरीक्षक शाहीले भने, ‘यसका साथै ४४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार पक्राउ पर्नेमा पाँच महिला र ३९ पुरुष छन् ।
दुई महिनाको अवधिमा प्रहरीले विभिन्न लागुऔषध बरामद गरेको छ । जसमा ब्राउन सुगर ३५ ग्राम ३४० मिलीग्राम, चरेस १७ ग्राम ३६० मिलीग्राम, अफिम पाँच किलोग्राम ५४० ग्राम, गाँजा दुई सय ४० ग्राम र तीन सय ६२ वटा टयाब्लेट रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   July 14, 2025 at 4:06 pm 


  • प्रतिक्रिया दिनुहोस्