एमाले सुर्खेतको सचिवालय बैठकः पार्टी गतिविधिसँगै जनसरोकारका विषयमा विविध निर्णय

सुर्खेतः नेकपा (एमाले) सुर्खेतको आठौं सचिवालय बैठक सम्पन्न भएको छ । आइतवार बसेको बैठकले पार्टी गतिविधिसँगै जनसरोकारका सवालमा विभिन्न निर्णय गरेको छ । जिल्ला कमिटी अध्यक्ष कुलमणि देवकोटाको अध्यक्षता तथा पार्टी पोलिट्व्युरो सदस्य लक्ष्मी पोख्रेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा कमिटीका सदस्यहरूले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ्ग गरेका छन् । क्षेत्रगत गतिविधिको रिपोर्टिङ्ग र आगामी कार्ययोजनाबारे अतिथिहरूले शुभकामना तथा निर्देशनात्मक भनाइहरू राखेको एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । उनका अनुसार बैठकले २०८१ को कार्ययोजनाको समीक्षा गर्दै त्यसलाई प्रतिवेदनका रूपमा तयार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले २०८२ को वार्षिक कार्ययोजना निर्माण गर्ने, भूमि सम्बन्धीका कामलाई व्यवस्थित गर्न भूमि आयोग र सबै पालिका कमिटीलाई गम्भीर ध्यानाकर्षण गराएको छ । सचिवालय बैठकले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्‌बाट उत्पन्न समस्याको समाधान गर्न तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ । राहत तथा पुनर्निमाणको कामलाई प्रभावकारी बनाउन बैठकले ध्यानाकर्षण गरेको हो । यस्तै, जिल्लामा पार्टी सदस्यता नवीकरण उत्साहजन रूपमा भएको ठहर गर्दै एमाले सुर्खेतले यसको प्रतिवेदन तयार गरी पार्टी केन्द्रलाई पठाउने निर्णय गरेको छ । बैठकमा एमाले केन्द्रीय सदस्य तथा सुर्खेत इञ्चार्ज नवराज रावत, केन्द्रीय सदस्य मोहनमाया ढकाल, प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, सचिव ध्रुवकुमार शाही, उपसचिव पद्मा खड्कालगायतका नेताहरूको आतिथ्यता रहेको थियो ।

प्रकाशित मितिः   July 7, 2025 at 11:59 am 


  • प्रतिक्रिया दिनुहोस्