
सुर्खेत, ९ असोज ।
मनसुन अझै केही दिन लम्बिने र यस वर्षको दशैंसम्मै पानी पर्ने अनुमान मौसमविद्ले गरेका छन् । दशैंमा पनि सानो–ठूलो पानी पर्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दशैंको विशेषता घमाइलो मौसम भए पनि यस वर्ष त्यस्तो रौनकता नहुने अनुमान गरिएको छ ।
नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैसम्म मनसुन सक्रिय हुने सम्भावना छ । महाशाखाका मौसमविद् मीनकुमार आर्यालले अझै कम्तिमा पनि एक सातासम्म छ्याङ्ग उग्रिएर घाम लाग्ने सम्भावना नदेखिएको बताए । ‘अहिले पनि मनसुनी गतिविधि सक्रिय छ,’ अर्यालले भने, ‘मनसुनी गतिविधि निस्क्रिय भएर पूर्ण रुपमा घाम लाग्ने सम्भावना कम्तिमा एक सातालाई देखिँदैन ।’
साविकअनुसार यस वर्षको मनसुनको समय अवधि दुई दिन अघि नै सकिएको छ । तर, मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद् अर्यालले बताए । ‘मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटेरिया’ पूरा हुनुपर्छ, त्यो हुने सम्भावना तत्काल देखिँदैन,’ उनले भने, ‘नेपालबाट मनसुन विदा हुन पश्चिमी वायूको प्रभाव बढ्नुपर्छ, तर अहिलेसम्म त्यो देखिएको छैन । बरु मध्य मनसुनकै जस्तो देशैभरी दक्षिणपूर्वी वायूकै प्रभाव छ ।’
सामान्यतया नेपालमा जुन १० तारिकमा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ । तर, विगत केही वर्षदेखि मनसुनी गतिविधिले पुरानो सेड्युल अनुशरण गर्न कम गर्दै गएको मौसमविद् अर्यालले बताए । जलवायु परिवर्तन र विश्व तापमानको असरले यस्तो भएको हुनसक्ने मौसमविद् अर्यालले बताए । यति बेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । यो भनेको मनसुनी गतिविधि सक्रिय नै रहँदाकै जस्तो अबस्था हो ।
आज (बिहीबार) देशैभरको मौसम पूर्णदेखि आंशिक बदली छ । घाम लाग्ने सम्भावना छैन । एकैछिन घाम लागेपनि फेरि बादलले ढाक्ने र देशका केही स्थानमा भारी वर्षासमेत हुने अनुमान मौसमविद्को छ ।
प्रकाशित मितिः September 26, 2019 at 11:01 am


कर्मसञ्चार । २०७६ असोज ९ गते बिहीवार