प्रशासनिक पुनर्संरचना प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन

सुर्खेतः कर्णाली प्रदेश सरकारले संगठन संरचना प्रतिवेदन कार्यान्वयन तथा सहजीकरण गर्न समिति गठन गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले संगठन संरचना अध्ययन उच्चस्तरीय समितिले बुझाएको सुझाव प्रतिवेदनको कार्यान्वयन प्रक्रिया अघि बढाउन सचिवको नेतृत्वमा चार सदस्यीय समिति बनाएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतको शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव वीरेन्द्र केसी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रबिलाल शर्मा रहेका छन् । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विद्याप्रसाद उपाध्यायलाई समितिको सदस्य सचिव तोकिएको छ । संगठन संरचनालाई थप प्रभावकारी बनाउँदै कार्यान्वयनका चरणहरू अघि बढाउने उद्देश्यले समिति गठन गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बताए ।
कर्णाली प्रदेश सरकारमातहतका निकायको प्रशासनिक संरचनालाई पुनर्संरचना गर्न गठित अध्ययन समितिले यही असार १३ गते प्रतिवेदन बुझाएको थियो । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको प्रशासनिक संरचनालाई चुस्त र प्रभावकारी बनाउन गएको वैशाखमा अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरेका थिए । उक्त समितिमा कर्णाली प्रदेश सरकारकै पूर्व मुख्य सचिव डा. गोपीकृष्ण खनाल र डा. सुरेश तिवारी सदस्य रहेका थिए ।

प्रकाशित मितिः   July 9, 2025 at 2:32 pm 


  • प्रतिक्रिया दिनुहोस्