
सुर्खेतः हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने खार्पुनाथ गाउँपालिकास्थित चुवाखोलामा निर्माण भएको बेलीब्रिज उद्घाटन गरेका छन् । योसँगै अब ७७ वटै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् भने कर्णालीमा त्रिदेशीय सडक सञ्जालसमेत विस्तार भएको छ । कर्णाली प्रदेश उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोडिएको छ । कर्णाली राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट सुरू भइ हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । यो सडक सञ्जाल दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनसँग जोडिएको छ ।
बेलीब्रिज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताए । उनले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभइ दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दै लैजाने बताए । चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिनेसमेत उनले प्रतिबद्धता जनाए । हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको बताए ।
मोटरेबल पुल निर्माणमा ठेकेदारले लापरवाही गरेपछि सिमकोटलाई छिटो सडक सञ्जालसँग जोड्न सरकारले नेपाली सेनालाई बेलीब्रिज निर्माणको जिम्मा दिएको थियो । सेनाले ३५ दिन लगाएर बेलीब्रिज निर्माण गरेको थियो । जसले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा आबद्ध गर्ने दशकौँअघिको प्रयास सफल बनाएको हो ।
प्रकाशित मितिः July 7, 2025 at 12:51 pm























कर्मसञ्चार । २०८२ असार २३ गते सोमवार