
कम्युनिष्ट आन्दोलनको जन्म, विकास र विस्तार विचारको आधारमा भएको छ । सर्वहारा श्रमजीवी वर्गका महानायक कार्ल मार्क्सले द्वन्द्वात्मक भौतिकवादको दार्शनिक अवधारणको विकास गरेपछि समाजको विकासक्रमलार्ई विश्लेषण गर्न वैज्ञानिक र वैचारिक आधार तयार भएको थियो । मानवजातिको इतिहास, दर्शन, राजनीति शास्त्र र अर्थशास्त्रलाई वुर्जुवा दृष्टिकोणबाट व्याख्या गर्ने क्रमलाई रूपान्तरण गरी वर्गीय आधारमा पुग्ने विधि तयार भयो । त्यसको आलोकमा उत्पादन व्यवस्थाको उत्पादन सम्बन्ध, श्रमिक तथा मजुदर वर्गमाथिको शोषण, श्रमको मूल्य, उत्पादन शक्तिको विकास र वर्गीय अन्तरविरोध आदिको व्यवस्था तथा विश्लेषण गर्ने मात्र होइन, सामाजिक मुक्तिको लागि आवश्यक कार्यदिशा एवम् कार्यक्रम पनि यसले तर्जुमा गर्न सहयोग पु¥यायो । जसले गर्दा श्रमजीवी वर्गको नेतृत्वमा शासनसत्ता सञ्चालन गरेर समाजवादको लक्ष्य प्राप्त गर्ने ध्येयलाई पनि स्थापित गर्यो।
आज विश्वमा कम्युनिष्ट आन्दोलन विभिन्न उतारचढावका साथ अगाडी बडिरहेको छ । रूसमा अक्टोबर क्रान्ति सम्पन्न भइसकेपछि अन्तर्राष्ट्रिय जगतमा कम्युनिष्ट आन्दोलनको प्रभाव विस्तार हुन थाल्यो । विभिन्न देशमा कम्युनिष्ट पार्टीहरूको स्थापना र विकास हुने प्रक्रिया अगाडि बढ्यो । पहिलो र दोश्रो विश्व युद्धमा पुँजीवादी साम्राज्यवादी शक्तिहरूको बीचमा शक्तिको होडवाजी र युद्धको कारणले गर्दा जनतामा पुँजीवादी र साम्राज्यवादी विरुद्ध तीव्र आक्रोश पैदा भइरहेको बेलामा श्रमजीवी जनताको वर्गीयमुक्तिको सवाल राष्ट्रिय तथा स्वाधिनताको विषय गम्भीर रूपमा प्रकट हुन थाल्यो । जनताको जनजिविका लोकतन्त्र र सामाजिक न्यायलाई मूलविषय बनाउदै विश्वव्यापी रूपमा कम्युनिष्ट आन्दोलनले प्रभाव विस्तार गर्यो । कम्युनिष्ट आन्दोलनले आफ्नो प्रभाव क्षेत्रलाई विस्तार गर्नका लागि वैचारिक रूपमा थुप्रै कामहरू गर्दै आएको छ । कार्ल मार्क्सले कम्युनिष्ट पार्टीको घोषणा–पत्र तयार पारेपछि कम्युनिष्ट आन्दोलनको वैचारिक कामलाई सु–संगठित रूपमा प्रस्तुत गर्ने कामको सुरूवात भएको थियो । सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा संगठनहरू कसरी निर्माण गर्ने, कसरी परिचालित गर्ने, समाजवादको लागि कसरी रणनीति तयार गर्ने, वर्ग संघर्षलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा मार्गदर्शन गर्न थाल्यो । माक्स र एङगेल्सद्वारा प्रतिपादित थुप्रै विचारहरूमाथि, त्यसबेला दार्शनिक र राजनीतिक हिसावले पक्ष, विपक्षमा वहस, छलफलहरू चल्न थाले । दक्षिणपन्थी प्रतिक्रियावादी सामन्ती र पुँजीवादी विचारहरू मात्र होइन समाजवादको अनुशरण गर्छाैं भन्नेहरू तथाकथित अराजक बामपन्थीहरू समेत मार्क्सवादी दर्शन सिद्धान्त र राजनीतिका विरुद्धमा हमला गर्न यस्तो थाले तर माक्र्स र एङ्गेल्सले जारी राखेको विचार धारात्मक संघर्षको निरन्तरताको सामन्ती तथा पुँजीवादी विचार मात्र हैन अराजकतावादी र काल्पनिक समाजवादीहरू समेत वैचारिक लडाइमा पराजित हुने स्थितिमा पुगे । पहिलो र दोस्रो इन्टरनेसनमा भएका वैचारिक छलफल र माक्र्सवादी क्रान्तिकारी विचारकहरूले कतिपय मत भिन्नताका बाबजुद तत्कालीन अवस्थाको वर्गसंघर्षमा जुन निश्कर्ष निकाले त्यसले कम्युनिष्ट आन्दोललाई आज पर्यन्त संसारभर निर्देशन गरिरहेको छ ।
दार्शनिक वैचारिक राजनीतिक र कार्यदिशाको हिसाबले मार्क्सवादले सर्वहारा वर्गको मुक्तिकामी आन्दोलन कम्युनिष्ट आन्दोलनका नाममा जसरी निर्देशित गर्यो । त्यही आलोकमा विश्वव्यापी रूपमा यो फैलिन पनि थाल्यो । त्यसैको आधारमा फरक–फरक समाज र राष्ट्रभित्र विद्यमान रहेको आर्थिक आधार, उत्पादन प्रणाली राजनीतिक व्यवस्था, आत्मगत शक्ति आदिको आधारमा कम्युनिष्ट आन्दोलनले तत्कालीन र दीर्घकालीन लक्ष्य निश्चित गर्दै राष्ट्रिय विशेषताको आधारमा कम्युनिष्ट आन्दोलनको विकास र विस्तार हुन पुग्यो । विश्वव्यापी रूपमा कम्युनिष्ट विचारधारा विस्तार हुदै जाँदा नेपालमा पनि राणा शासनका विरुद्धको आन्दोलनको कालमा सामन्तवाद र साम्राज्यवाद विरोधी विचारहरू प्रकट हुन थाले । त्यसपछि संगठित पार्टी नेपाल कम्युनिष्ट पार्टीको गठन हुन पुग्यो ।
नेपालको कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिमा विश्वमुक्तिको विषयलाई स्थापित गर्ने संगठनात्मक सञ्जालको निर्माण र वैचारिक कामको लागि थुप्रै संघर्षका प्रारूपहरू तयार पारी लागु गर्दै अगाडी बढ्यो । नेपालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापनासँंग कमरेड पुष्पलालद्वारा अनुवाद गरिएको कम्युनिष्ट पार्टीको घोषणा–पत्र र सो सगँसगै उहाँद्वारा तयार पारिएका थुप्रै दस्तावेज र अपिलहरूले कम्युनिष्ट आन्दोलनको सिद्धान्तलाई नेपालमा व्यवस्थित रूपमा जनसमक्ष प्रस्तुत गर्ने काम गर्यो । नेपालको कम्युनिष्ट आन्दोलनलाई नेपालको विशेषतामा मार्क्सवादी विचारको प्रयोगका सन्दर्भमा जनवादी क्रान्ति सम्पन्न गर्नका लागि जननेता मदन भण्डारीद्वारा जनताको बहुदलीय जनवादमार्फत विचार कार्यक्रम सिद्धान्तको रूपमा ठूलो योगदान पुर्याएको छ ।
कम्युनिष्ट आन्दोलन विचारधारात्मक कामबाट मात्रै अगाडी बढ्न सक्छ । विचारको आधारमा सगठन निर्माण र सञ्चालन हुन्छ । अनिमात्रै राजनीतिक सघर्षले जीवन पाउने गर्छ ।
कम्युनिष्ट आन्दोलन विचारधारात्मक कामबाट मात्रै अगाडी बढ्न सक्छ । विचारको आधारमा सगठन निर्माण र सञ्चालन हुन्छ । अनिमात्रै राजनीतिक सघर्षले जीवन पाउने गर्छ । तसर्थ, हामीले विचारधारात्मक कामलाई प्राथमिकताका साथ महत्व दिने र ज्ञानको आधारमा पार्टी सञ्चालन गर्ने तरिका अवलम्बन गर्नुपर्ने हुन्छ ।
यतिबेला अन्तर्राष्ट्रियस्तरमा समाजवाद र पुँजीवाद बीचको अन्तरविरोध अझ नयाँ उचाइमा पुगेको छ । साम्राज्यवाद र उत्पीडित राष्ट्रहरू बीचको अन्तरविरोध पनि झनै जटिल बन्दै गएको छ । साम्राज्यवादी शक्तिहरूको बीचमा पनि प्रभुत्व र शक्ति सञ्चयको होड चलेको छ । यसले गर्दाखेरी युद्ध आक्रमण र प्रत्याक्रमणको भय सिर्जना भएको छ । नेपालजस्तो विशिष्ट भूराजनीति अवस्था रहेको मुलकमा अन्तर्राष्ट्रिय प्रभावबाट अलग रहदै नेपालमा समाजवाद स्थापना गर्नका लागि थप चुनौतीपूर्ण बन्दै गएको छ । हामीले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । आर्थिक उत्पादन प्रणालीका हिसाबले भन्ने हो भने हाम्रो राष्ट्रिय अर्थतन्त्र कमजोर र संकटग्रस्त छ । त्यसमाथि प्रभुत्ववादी शक्तिको प्रभाव अन्तर्राष्ट्रिय वित्तीय पुँजीवाद र दलाल नोकरशाही पुँजीवादको शोषण र दमनमा परेको राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र स्वाबलम्वी र समाजवाद उन्मुख बनाउने विषय त्यति सजिलो छैन । यसका लागि नयाँ शिराबाट विचारधारात्मक तथा सांगठनिक कामहरू गर्नुपर्ने हुन्छ ।
विश्व कम्युनिष्ट आन्दोलनका विभिन्न अनुभवबाट पाठ सिक्दै विचारधारात्मक कामलाई पार्टी जीवनको अभिन्न हिस्सा बनाउनका लागि नेकपा (एमाले) पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई वैचारिक, राजनीतिक, सामाजिक सांगठनिक तथा प्राविधिक विषयमा प्रशिक्षण दिनको लागि पार्टी स्कुल विभाग गठन गरी क्रियाशील गराएको छ । यस विभाग अन्तर्गत पार्टी स्कुल सञ्चालनको तहगत प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । प्रशिक्षणमा पार्टी केन्द्र स्कुल विभागद्वारा आयोजित कार्यक्रम देशव्यापी रूपमा जिल्ला–जिल्लामा सञ्चालन भइरहेका छन् । प्रशिक्षणमा मार्क्सवादी दर्शन, राजनीतिक पार्टी सञ्चालन र व्यवस्थापन, पार्टी नेता कार्यकर्ताको जीवनशैली जनताको बहुदलीय जनवाद १०औं महाअधिवेशनले अघि सारेका कार्यदिशा लगायतको विषयमा प्रशिक्षण चलिरहेको अवस्था छ ।
स्कुल विभागले खासगरी पार्टीको कार्यदिशाबारे जानकारी दिँदै समाजको अध्ययन गराउँछ । यसले सदस्यहरूको ज्ञानलाई फराकिलो बनाउन मदत गर्दछ । यस कारण पनि दलहरूभित्र स्कुल विभाग महत्वपूर्ण हुन्छ । पार्टीको विचारधारात्मक कामलाई सु–व्यवस्थित रूपमा आम कार्यकर्ता पंक्तिसम्म पुर्याउन जरूरी छ । सुर्खेत जिल्ला कमिटीले प्रथम बैठकबाट नै पार्टी स्कुललाई महत्वका साथ अगाडी बढाएको छ । जनवर्गीय संगठनका जिल्ला पदाधिकारीहरू तथा केन्द्रीय सदस्यहरूका लागि प्रशिक्षण सम्पन्न भएका छन् । जिल्ला कमिटीका सदस्यहरु हुँदै टोल कमिटीसम्म प्रशिक्षण सम्पन्न गरिएको छ ।
हामीले बलिदानपूर्ण लडाइबाट प्राप्त गरेको व्यवस्था माथि नै केही अराजक तत्वहरूले चुनौति दिइरहेको परिस्थितिमा कार्यकर्ता पंक्तिलाई वैचारिक रूपमा स्पातिलो बनाउन आवश्यक देखिएको छ । यतिबेला पार्टी स्कुलको महत्व झन बढिरहेको छ । अध्ययनको गहिराइबाट होइन सतही धारणा निर्माण गर्ने परिपार्टीको विकास भइरहेको वर्तमान सन्दर्भमा मार्क्सवाद, लेनिनवादको मार्गदर्शनमा आम नेता, कार्यकर्ता, वैचारिक राजनीतिक रूपले स्पातिलो हुनपर्ने देखिएको छ । सर्वहारा वर्गको एउटा प्रतिनिधिमुलक पार्टी हुनको नाताले हाम्रो काँधमा महत्वपूर्ण जिम्मेवारी छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पुरा गर्नुपर्छ । यस अवस्थामा हाम्रो पार्टीका सबै तहका नेता कार्यकर्ताले जनमुखी जीवन शैली अपनाउनुपर्ने छ । एमालेलाई जनताको आशा र भरोसाको पार्टी बनाउनुपर्ने छ । यसै सन्दर्भमा पार्टी स्कुलबाट आयोजना हुने सबै तहका प्रशिक्षणका कार्यक्रममा सक्रिय सहभागीता जनाउँदै सोहीअनुसार आफ्नो जीवन शैली अपनाउनु हुनेछ भन्ने अपेक्षा गरिएको छ । – लेखक, नेकपा (एमाले) सुर्खेतका उपाध्यक्ष एवम् स्कुल विभाग प्रमुख हुन् ।
प्रकाशित मितिः July 10, 2025 at 1:10 pm























कर्मसञ्चार । २०८२ असार २६ गते बिहीवार