
सुर्खेत । कर्णाली प्रदेशमा बालमैत्री स्थानीय शासन अनुगमन समितिका पदाधिकारीको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको छ । बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ अनुसार गठित प्रदेश तथा जिल्लास्तरीय बालमैत्री स्थानीय शासन अनुगमन समितिका पदाधिकारीहरूका लागि वीरेन्द्रनगरमा बिहीबारदेखि तालिम सुरू भएको हो । तीनदिने तालिममा प्रदेशका १० मध्ये आठ जिल्लाका अनुगमन समितिका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

तालिममा बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन प्रणाली, बालअधिकार संरक्षण र सरोकारवालाको भूमिका विषयमा सहजीकरण गरिने जनाइएको छ । यस्तै, बालमैत्री स्थानीय शासनको विद्यमान अवस्था, कानूनी प्रावधान, संरचना र जिम्मेवारी लगायतका विषयमा तालिममा छलफल गरिनेछ ।
तालिमबाट सहभागीहरूको क्षमता अभिवृद्धि भई बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । उक्त तालिममा सेभ द चिल्ड्रेन, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बाल अधिकारका लागि साझा अभियान (सीसीआर) कर्णाली, वल्र्ड भिजन, प्लान इन्टरनेशनल तथा सम्बन्धित सरकारी एवम् विकास साझेदार संस्थाहरूको सहकार्य रहेको छ ।

प्रकाशित मितिः July 24, 2026 at 7:36 am


कर्मसञ्चार । २०८३ साउन ८ गते शुक्रवार