
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका नाममा व्यवस्थामाथि प्रहार गर्ने प्रयास भएको बताएका छन् । एमाले सुर्खेतद्वारा मंगलबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेनजीलाई देखाएर भएको आन्दोलन कुनै एक पार्टी वा नेताविरुद्ध मात्र नभइ सिंगो देश र व्यवस्थाविरुद्ध भएको जनाए । जेनजी आन्दोलन र त्यसयता विकसित भएका घटनाक्रमले त्यसलाई सहजै पुष्टि गरेको उनले प्रष्ट पारे ।
मुख्यमन्त्री कँडेलले जेनजी आन्दोलन कांग्रेस–एमाले गठबन्धनको सरकारविरुद्ध मात्रै थियो भनेर बुझ्न नहुने बताए । त्यसरी बुझ्न थालियो भने धेरै उपलब्धी गुम्दै जाने उनको जिकिर छ । ‘दलका कार्यालय, सरकारी कार्यालय, नेताका घरमात्र जलेनन्, संविधानका धारा पनि मिचिए, अब पनि हामी होसियार नबन्ने हो भने संविधान त के मुलुकको अस्तित्व नै संकटमा पर्दै जानेछ,’ उनले भने, ‘पार्टी कमिटी, पार्टी सदस्यलाई परिस्थितिबारे बुझाऔं, अन्य दलसँग पनि छलफल गरेर साझा धारणा बनाऔं, नत्र अझैं क्षति भोग्नुपर्ने अवस्था पनि आउनसक्छ ।’ एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कँडेलले भने, ‘सत्ता बदलिएको छ, सरकार बदलिएको छ, तर विजेता भन्ने कही खोजेर पाउने अवस्था छैन ।’ उनले आन्दोलन अघि यो त सरकारविरुद्धको प्रर्दशन हो भनेर केही दल र केही नेता चुप लाग्दा प्रतिगामी तत्वले तिनीहरूलाई समेत नछोडेको दृष्टान्त प्रस्तुत गरे । २०७२ को संविधान अर्धमुच्र्छित अवस्थामा पुगिसकेको भन्दै मुख्यमन्त्री कँडेलले अहिले सामान्य अवस्था नरहेको बताए । ‘हामी आफ्ना कमी–कमजोरी सच्याउनतर्फ पनि ध्यान दिऔं, जनविश्वास जित्न आ–आफ्नो ठाउँबाट राम्रो काम गरौं,’ उनले भने, ‘कमजोरीको सम्बन्धित पार्टी कमिटीमा समीक्षा गरौं, त्यसले पार्टी पनि बन्छ र व्यवस्था जोगाउन हौसला मिल्दछ ।’
एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहले विगतमा एमालेविरुद्ध प्रहार गरिरहेको शक्तिले नै यसपटक जेनजीलाई प्रयोग गरेर संघीय लोकतान्त्रिक गणतन्त्र मास्न थालेको घटनाक्रमलाई सामान्य रूपमा लिन नहुने बताए । कार्यक्रममा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले प्रतिगामी तत्वले जेनजीका नाउमा अराजक गतिविधि गरेको भन्दै हजारौं पार्टी कार्यकर्ताको लगानीबाट निर्माण गरिएको कार्यालय जलाएकोप्रति आपत्ति व्यक्त गरे ।

प्रकाशित मितिः September 16, 2025 at 7:11 pm


कर्मसञ्चार । २०८२ भाद्र ३१ गते मंगलवार