
सुर्खेतः कर्णाली प्रदेश सरकार अन्तर्गतका निकायको प्रशासनिक पुनर्संरचना गर्न गठित अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई प्रतिवेदन बुझाएको हो ।
प्रदेशको हालको प्रशासनिक संरचना पुनर्संरचनामार्फत सरकारका कार्यसम्पादन थप प्रभावकारी, चुस्त र व्यवस्थित बनाउन मन्त्रिपरिषद् बैठकले पूर्वसचिव लक्ष्मण अर्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले समयसीमाभित्रै (दुई महिना) लगाएर प्रदेश सरकार अन्तर्गतका निकायको अध्ययन गरी प्रतिवेदन तयार गरेको हो । सोही प्रतिवेदनको निष्कर्ष समितिका संयोजक अर्यालले मुख्यमन्त्री कँडेललाई हस्तान्तरण गरेका हुन् ।
समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा समावेश गरिएका विषयहरू भने अहिले सार्वजनिक गरिएको छैन । मुख्यमन्त्री कँडेलले समितिको प्रतिवेदनका आधारमा प्रशासनिक पुनर्संरचनाको प्रक्रिया अघि बढ्ने बताएका छन् । ‘प्रशासनिक पुनर्संरचना अध्ययन गर्न गठित समितिबाट प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयनको तहमा लगिनेछ’ मुख्यमन्त्री कँडेलले भने, ‘यसमा सबैको साझा धारणा र सहभागिता भने आवश्यक हुन्छ ।’ अध्ययन समितिको सिफारिसका आधारमा समान प्रकृतिका संरचना गाभ्ने, औचित्यपूर्ण नदेखिएका संरचना खारेज गर्नेलगायतका काम अघि बढाइनेछ । प्रशासनिक संरचनालाई चुस्त र उपयुक्त आकारमा रूपान्तरण हुने गरी पुनर्संरचना गर्ने कार्य अघि बढाउने सरकारको तयारी छ । यसबाट प्रदेश सरकारकालाई अनावश्यक व्ययभारसमेत कम हुनेछ अपेक्षा गरिएको छ ।























कर्मसञ्चार । २०८२ असार १४ गते शनिवार