वीरेन्द्रनगरमा थालियो बजार अनुगमन

सुर्खेत, ६ भदौ ।
वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगको बजार अनुगमन गरेको छ । बजार अनुगमन तथा व्यवस्थापन कार्यविधि २०७४ बमोजिम पहिलो पटक बुधबारदेखि बजार अनुगमन शुरू गरिएको हो । नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलको नेतृत्वमा गएको टोलीले ९ वटा विभिन्न पसलमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा खुद्रा खाद्यान्न तथा मदिरा एकै पसलमा राखेर बेच्ने गरेको, म्याद नाघेका सामान राख्ने र नास्ता पसलमा विभिन्न परिकार खुला राखेर बेच्ने गरिएको पाइएको पौडेलले जानकारी दिए । ‘यसरी एकै ठाउँमा मदिरा र खाद्यान्न राखेर बिक्री वितरण गर्न पाइँदैन,’ उनले भने, ‘हामीले अहिले उहाँहरूलाई सुझाव दिएका छौं, उहाँहरूले अलग–अलग नपारे कार्यविधि अनुरुप कारवाही प्रक्रिया अगाडि बढाउने छौं ।’ उनले नगरपालिका उपभोक्ताको स्वच्छ र उपयुक्त मूल्यमा खाद्यान्न तथा अन्य वस्तु पाउने हकको उच्च सम्मान गर्दै अनुगमनमा आएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले उपभोक्ताको हित विपरीत कसैले पनि काम गर्न नहुने बताए । ‘उपभोक्ताको स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न पाइँदैन,’ उनले भने, ‘त्यस्तो भएको पाइएमा व्यापारी कारवाहीको भागिदार हुनैपर्छ ।’ खाद्य निरीक्षक भेषबहादुर थापाले उपभोग्य वस्तुको उपभोग्य मिति, गुणस्तर ध्यान दिएर मात्रै उपभोक्ताले प्रयोग गर्नुपर्ने बताए । अनुगमन टोलीले मंगलगढी, हटियालाइन र बांगेशिमलमा क्षेत्रमा अनुगमन गरेको थियो । कार्यविधि आइसकेकाले अब बजार अनुगमन नियमित हुने बताइएको छ ।

प्रकाशित मितिः   August 22, 2018 at 7:07 pm 


  • प्रतिक्रिया दिनुहोस्