कर्णालीका पत्रकारको स्वास्थ्य बीमा गर्न त्रिपक्षीय सम्झौता

 

सुर्खेतः कर्णालीका पत्रकारको स्वास्थ्य (औषधोपचार) बीमाका लागि त्रिपक्षीय सम्झौता भएको छ । कर्णाली प्रदेश कार्यक्षेत्र भएका ६९३ जना पत्रकारको स्वास्थ्य बीमा गर्न लागिएको छ । जसका लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिबीच आज (शुक्रवार) सम्झौता गरिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयमा चालु आर्थिक वर्षमा पत्रकार स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ लाख बजेट थियो । सोही कार्यक्रम अन्तर्गत पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले जनाए ।
मन्त्रालयको समन्वयमा महासंघ प्रदेश समितिले बीमामा आबद्ध हुन चाहने पत्रकारलाई सार्वजनिक सूचनाका साथै शाखाहरुमार्फत आह्वान गरेको थियो । महासंघका शाखाहरुले गरेको सिफारिसका आधारमा पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको हो । तीन पक्षका प्रतिनिधिले हस्ताक्षर गरेको सम्झौता पत्रअनुसार बीमा लेखको अवधि बीमालेख जारी भएको मितिले एक वर्षको हुने, प्रतिव्यक्ति बीमा शुल्क २ हजार र प्रतिव्यक्ति बीमाङ्क रकम ७० हजार रुपैयाँ कायम हुने उल्लेख छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले बीमा पोलिसीवारे जानकारी गराउँदै बीमा लेख प्रारम्भ भएको १५ दिनपछि मात्रै उपचार खर्चको दावी भुक्तानी हुने बताए ।

प्रकाशित मितिः   June 27, 2025 at 5:51 pm 


  • प्रतिक्रिया दिनुहोस्