
सुर्खेत, १२ मंसिर ।
सुर्खेतमा श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षासम्बन्धी सेवा प्रदान गर्न श्रम मन्त्रालयले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय कार्यालय स्थापना गरेको हो ।
कार्यालयको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बुधबार उद्घाटन गरे । वैदेशिक रोजगारीमा बढ्दो ठगी र झन्झटिलो प्रक्रियाको अन्त्य गर्न श्रम स्वीकृति दिने व्यवस्थालाई सरलीकृत पार्ने उद्देश्यले कार्यालय स्थापना गरिएको मन्त्री विष्टले बताए ।
वैदेशिक रोजगारीलाई व्यवस्थित, भरपर्दो र सुरक्षित बनाउँदै केही समयमा देशभित्रै लाखौं युवाहरुलाई रोजगारी सृजना गर्नेगरी सरकारले गृहकार्य थालेको उनले दाबी गरे । ‘रोजगारीको अभावमा जोखिमपूर्ण काम गर्न विदेश जाने नेपाली युवाहरुलाई देशभित्रै कामको खोजि गर्ने सरकारले घोषणा गरेको छ,’ मन्त्री विष्टले भने, ‘आउँदो वर्षदेखि यस्ता कार्यक्रम लागू गरिनेछ ।’ सरकारले हिजोमात्रै सामाजिक सुरक्षा अभियान सुरु गरेको उल्लेख गर्दै यसले श्रमिकलाई सुरक्षित आधार प्रदान गर्ने उनले बताए ।
सामाजिक सुरक्षा योजना प्रभावकारी कार्यान्वयन हुनेमा विश्वस्त हुन पनि उनले आग्रह गरे । श्रमको सम्मान गर्ने पद्धतिको विकास गर्न, आन्तरिक रोजगारको प्रवद्र्धन, वैदेशिक रोजगारीलाई व्यवस्थित एवं व्यावसायिक र सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरूप विस्तार गर्नेगरी प्राथमिकताका साथ श्रम मन्त्रालय लागिरहेको मन्त्री विष्टको भनाइ छ ।
तत्काल के– के सेवा पाइन्छ ?
सुर्खेतमा स्थापना भएको श्रम तथा रोजगार कार्यालयले तत्कालका लागि श्रमसम्बन्धी विवादको निराकरण, बालश्रम निवारण, ट्रेड युनियन दर्ता÷नविकरण, श्रम ऐन कार्यान्वयनको अनुगमन तथा कारबाहीलगायत काम गर्ने छ ।
वैदेशिक रोजगारमा जानेका लागि प्रदेशस्तरबाटै श्रम स्वीकृति दिने व्यवस्था लागू गर्न भने केही समय लाग्ने कार्यालयका निमित्त बरिष्ठ श्रम अधिकृत श्यामकृष्ण आचार्यले जानकारी दिए । ‘अबको एक महिनाभित्र श्रम स्वीकृति दिने काम पनि यहाँबाटै हुन्छ,’ अधिकृत आचार्यले भने । कार्यालयले बुधबार नै वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियाका सहभागि सरोकारवाला निकायले वैदेशिक रोजगारीमा जानेले थुप्रै झन्झट बेहोर्नुपरेको र ठगिने समस्या बढ्दै गएकाले प्रक्रियालाई सरल बनाउँदै ठगी नियन्त्रण गर्न जनस्तरसम्म चेतना अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका थिए ।
प्रकाशित मितिः November 28, 2018 at 4:17 pm













कर्मसञ्चार । २०७५ मंसिर १२ गते बुधवार