कर्णाली सरकारले प्राविधिक क्षेत्रका स्वयंसेवक परिचालन गर्दै

सुर्खेत, २८ पुस ।
कर्णाली प्रदेश सरकारले प्राविधिक क्षेत्रका स्वयंसेवक परिचालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशको आवश्यकता बमोजिम स्वयंसेवक परिचालन गर्न लागेको हो ।

मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको ‘कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि’ बिहिबारको बैठकले स्वीकृत गरेको छ । विधेयक स्वीकृत भएसँगै अब मन्त्रालयका तर्फबाट स्वयंसेवक परिचालनका लागि आवश्यक गतिविधि गर्ने भएको छ ।

कार्यविधि अनुसार परिचालन हुने स्वयंसेवकहरू प्राविधिक क्षेत्रका हुनेछन् । प्रदेशमा रहेका प्राविधिक विषय अध्ययन गरेका बेरोजगार युवा र प्राविधिक क्षेत्रमा अभाव रहेको जनशक्तिलाई मध्यनजर गर्दै स्वयंसेवक परिचालन गर्न लागिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।
मन्त्री रावलका अनुसार विशेषगरी निर्माण, कृषि, शिक्षा, स्वास्थ्यलगायतका विषयसँग सम्बन्धित प्राविधिकहरू स्वयंसेवकका रूपमा खटाइने छ । यो वर्ष खटाइने स्वयंसेवकहरू यसअघि राष्ट्रिय योजना आयोगको कार्यक्रम अनुसार रहने उनले बताए ।

नेपाल सरकारको सशर्त अनुदानबाट प्रदेश सरकारले केही व्यवस्थित गरेर यो वर्ष प्राविधिक खटाइने मन्त्री रावलले बताए । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले कर्णाली प्रदेशमा ९९ जना विभिन्न क्षेत्रका स्वयंसेवक कार्यरत छन् । प्रदेशमा जम्मा स्वयंसेवकको कोटा २२९ रहेको छ । कोटाअनुसार अब प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत १३० जना प्राविधिक स्वयंसेवक परिचालन गर्नुपर्ने छ ।
रिक्त रहेको दरबन्दी पूर्तिका लागि दुईवटा समितिको व्यवस्था गरिएको मन्त्री रावलले जानकारी दिए। जसमा सामाजिक विकास मन्त्रीको संयोजकत्वमा निर्देशक समिति रहेको छ । उक्त समितिका सबै मन्त्रालयका सचिवहरू सदस्य तथा सामाजिक विकास मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ । यो समितिले नीति बनाउने उनले बताए । उनका अनुसार प्रदेशभित्रका दुर्गम, सुगम, पिछडिएको क्षेत्र तथा ती क्षेत्रहरूमा आवश्यक कोटा निर्धारण गर्ने काम नीतिमार्फत् निर्देशक समितिले गर्नेछ ।

यसैगरी सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा अर्को कार्यकारी समितिको व्यवस्था गरिएको छ । समितिमा शिक्षा तालिम केन्द्रको प्रमुख सदस्य सचिव रहेका छन् । यो समितिले, विज्ञापन प्रकाशन गर्ने, परीक्षा लिने, नतिजा प्रकाशन गर्नेलगायतका काम गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

परिचालित स्वयंसेवकलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिएको छ । उनीहरूलाई खान, बस्न पुग्ने खालको जीवन निर्वाह भत्ता उपलब्ध गराइने सामाजिक विकास मन्त्री रावलले बताए । स्वयंसेवकका भर्नाका लागि सकेसम्म अबको एक हप्ताभित्र विज्ञापन निकाल्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अब छिट्टै निर्देशक समितिको वैठक बसेर आवश्यक छलफलपछि विज्ञापन प्रकाशनलगायतका काम गरिनेछ ।
सामाजिक विकास मन्त्रालयले ल्याएको यो कार्यक्रमअन्तर्गत सर्वसाधारण र प्राविधिक शिक्षा अध्ययन गरेका युवाहरूलाई फाइदा पुग्ने मन्त्रालयले जनाएको छ ।

‘एकातिर थोरै पैसामा धेरै जनशक्ति परिचालन गर्न सकिने हुँदा सर्वसाधारणले सेवा पाउने छन् भने अर्कोतिर प्राविधिक शिक्षा अध्ययन गरेका युवाहरूको प्रयोगात्मक रूपमा क्षमता वृद्धि हुनुका साथै बेरोजगार बस्नुपर्दैन । दुवैतिर फाइदा छ,’ मन्त्री रावलले भने । प्रदेशभित्र उत्पादन हुने प्राविधिक जनशक्तिलाई प्रदेशभित्र परिचालन गर्न सकिने हुँदा यसलाई व्यवस्थित गर्न विधेयक नै ल्याउन लागिएको पनि मन्त्री रावलले बताए ।

विधेयक अहिले ड्राफ्ट गर्ने क्रममा रहेको उनले जानकारी दिए । ऐन बनाएर लागू गर्न सकिएमा कार्यक्रम अझ प्रभावकारी हुने उनले बताए । कार्यक्रमले प्रदेशको समृद्धितर्फ पनि टेवा पु¥याउने मन्त्री रावलको भनाइ छ ।

प्रकाशित मितिः   January 12, 2019 at 5:04 pm 


  • प्रतिक्रिया दिनुहोस्