
सुर्खेतः माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एसईईको नतिजा प्रकाशनको तयारीका लागि आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ तर समय भने निश्चित भइसकेको छैन । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाए । ‘नतिजाको अन्तिम चरणमा छौं । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’
सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक बस्ने भए पनि समय भने निर्धारण भइनसकेको जनाए । परीक्षा बोर्ड स्रोतका अनुसार चाँडोमा आज रातिसम्म र ढिलोमा भोली बिहानसम्म नतिजा आइसक्नेछ ।
अहिले नतिजामा प्राविधिक त्रुटि भए नभएको परीक्षण भइरहेको छ । अघिल्ला वर्षहरुमा जेठ मसान्तदेखि असारको पहिलो साताभित्रै एसइईको नतिजा सार्वजनिक हुने गरेकोमा यो पटक नतिजा प्रकाशनमा केही ढिलाई भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
प्रकाशित मितिः June 27, 2025 at 10:54 am


कर्मसञ्चार । २०८२ असार १३ गते शुक्रवार