काँक्रेविहारको महत्त्व उजागर गर्न महोत्सव

सुर्खेतः सुर्खेतस्थित कर्णाली प्रदेशकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्य काँक्रेविहारमा एकदिने महोत्सव आयोजना गरिएको छ । काँक्रेविहारको ऐतिहासिक र पुरातात्त्विक महत्त्व उजागर गर्न ‘खोज, अनुसन्धान तथा पर्यटन महोत्सव’ आयोजना गरिएको हो । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा आज (शुक्रवार) काँक्रेविहार परिसरमा महोत्सव सञ्चालन गरिँदैछ । काँक्रेविहारको विविध पक्षको गहन अध्ययन, समीक्षा एवम् प्रचारप्रसार गर्ने हेतुले महोत्सव आयोजना गरिएको वीरन्द्रनगर–९ का वडा अध्यक्ष ऋषि गिरीले बताए । उनकाअनुसार महोत्सवमा युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन पनि हुनेछ ।

महोत्सवबारे अध्यक्ष गिरी भन्छन्, ‘काँक्रेविहार शैक्षिक विमर्श, बौद्धिक अन्तक्र्रिया र सांस्कृतिक अभिव्यक्तिको साझा मञ्च बन्ने विश्वास लिइएको छ ।’ महोत्सव तथा सम्मेलनमा काँक्रेविहारसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ भने विद्वत् टिप्पणी तथा खुला बहस पनि आयोजना गरिने जनाइएको छ ।
त्यस्तै, काँक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्वका विषयमा वक्तृत्वकला प्रतियोगिता (कक्षा ९–१२), सपनाको काँक्रेविहार शीर्षकमा चित्रकला प्रतियोगिता (कक्षा ६–८), स्थानीय कला संस्कृति झल्किने नृत्य प्रतियोगिता (कक्षा १–५) आयोजना गरिनेछ । समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान, विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनी, स्थानीय थारू, भोटे र अन्य आदिवासी समुदायहरूको सांस्कृतिक प्रस्तुति प्रदर्शनसमेत हुनेछ ।
प्राचीन बौद्धविहार काँक्रेविहारलाई ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अनुपम सम्पदा मानिन्छ । यस्ता कार्यक्रमले स्थानीय समुदायमा सांस्कृतिक स्वामित्वको भावना अभिवृद्धि गर्नुका साथै कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने वडा कार्यालयले जनाएको छ । महोत्सवमार्फत काँक्रेविहार सम्पदास्थलको संरक्षण, प्रर्वद्धन र दिगो विकासका सम्भावनाहरू पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष गिरीको भनाइ छ ।

प्रकाशित मितिः   June 27, 2025 at 8:44 am 


  • प्रतिक्रिया दिनुहोस्