कर्णालीमा ‘क्यान इन्फोटेक’ मेला हुने


सुर्खेत, १० माघ ।
कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक मेला हुने भएको छ । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा आउँदो फागुन २४ देखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय क्यान इन्फोटेक आयोजना गर्न लागिएको हो ।

सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला सञ्चालन गर्न लागिएको क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीका अनुसार इन्फोटेक सञ्चालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुनेछ । उद्घाटन कर्णाली प्रदेशमै पहिलो पटक रोबोटबाट गर्ने तयारी भइरहेको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागिता रहने गरी आयोजना हुन लागेको इन्फोटेकको समन्वय क्यान महासंघ कर्णाली प्रदेशले गर्ने र त्यसको संरक्षकमा क्यान महासंघ नेपाल रहने आयोजकले जनाएको छ ।

आयोजक क्यान महासंघ सुर्खेतका अनुसार ‘आइएमइ पे’ मुख्य प्रायोजक रहेको उक्त इन्फोटेकको नाम नै ‘आइएमइ पे’ क्यान इन्फोटेक राखिएको क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले जानकारी दिए ।

इन्फोटेकमा करिव ७० वटा स्टल रहने उनले बताए । आयोजकका अनुसार इन्फोटेकमा राष्ट्रियस्तरका व्यवसायीहरु सहभागी हुनेछन् भने नेपालमा भित्रिएका नयाँ प्रविधिहरुको प्रदर्शनी मुख्य आकर्षकको रुपमा रहनेछ । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार संचालन हुने छन् । इन्फोटेक मेला करिव १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

यसअघि सुर्खेत शाखाको आयोजनामा सुण्डे क्यान इन्फोटेक २०१३ र के सेभेन क्यान इन्फोटेक २०१६ सम्पन्न भइसकेको छ ।

प्रकाशित मितिः   January 24, 2019 at 6:27 pm 


  • प्रतिक्रिया दिनुहोस्