
सुर्खेत, ११ फागुन ।
नेपाल राष्ट्र बैकले किसानका लागि सहुलियत कर्जा व्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले ७ वटा क्षेत्रहरुका लागि ५ करोड रुपैयाँसम्मको हुलियत कर्जा व्याज अनुदान कार्यक्रम ल्याएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित थोक कर्जा वितरक तथा सहकारी संस्थाहरुवीच समन्वय गोष्ठीमा नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोख्रेलले व्यवसायिक कृषि, पशुपन्छी, घरेलु तथा साना उद्योग, लघु उद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा व्याज अनुदान दिइएको जानकारी दिए ।
महिला उद्यमशिलता, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा र भुकम्प पीडितहरुको निजी आवास निर्माणमा समेत अनुदान उपलव्ध गराईएको उनले बताए । निमित्त निर्देशक पोख्रेलले राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्वन कोष बन्द हुन लागेको जानकारी दिए । ‘आगामी असारदेखि ग्रामीण स्वावलम्वन कोष बन्द हुन लागेको छ,’ उनले भने, ‘हामीले गर्ने काम अन्य लघुवित्त संस्था र बैंकहरुले गरिरहेकाले उक्त कोष बन्द गर्ने निर्णयमा पुगेका हौं ।’
कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन (पहल) कार्यक्रमको सहयोगमा सुन्दर नेपाल संस्थाले आयोजना गरेको उक्त गोष्ठीमा बोल्दै पहल कार्यक्रमका वित्तिय सेवा अधिकृत विश्व श्रेष्ठले कार्यक्रम लागु भएका दैलेख, जाजरकोट, रुकुम, रोल्पा, प्यूठान, सल्यान र सुर्खेतका २० हजार बढी किसानलाई वित्तिय साक्षरता कक्षामा सहभागी गराईएपछि शेयर सदस्यको संख्यामा उल्लेख्य बृद्धि भएको दाबी गरे । उनले सहकारीका शेयर सदस्यहरुको बढ्दो ऋण मागलाई सम्बोधन गर्न थोक कर्जा प्रवाह गर्ने सहकारीसँग समन्वय गर्न सहभागिलाई सुझाव दिए ।
त्यस्तै सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकास भुसालले सहकारी संस्थालाई आफ्नो कार्यक्षेत्र भित्रको अवस्थालाई मध्यनजगर गरी व्यवसायिक कृषि तथा पशुपालनमा लगानी बढाउन सुझाए । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बैंकका सागरनाथ योगी, आरएमडिसी लघुवित्त संस्थाका सुशील घिमिरे, साना किसान लघुवित्तका नवराज डाँगी, केन्द्रीय बचत तथा ऋण सहकारी संघका छत्र धमालालगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
प्रकाशित मितिः February 23, 2019 at 4:39 pm























कर्मसञ्चार । २०७५ फागुन ११ गते शनिवार