धान दिवसमा सार्वजनिक बिदा


सुर्खेतः कर्णाली प्रदेश सरकारले धान दिवसको अवसरमा असार १५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बुधवार सूचना जारी गरी जुम्लाबाहेक प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिने जनाएको हो । २०८१ चैत १७ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त दिन सरकारी तथा सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले बताए ।
‘राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक ९ जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । जुम्लामा भने चैत महिनामै धान रोपाइँ हुने गरेको छ । जसका कारण प्रदेश सरकारले जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रकाशित मितिः   June 26, 2025 at 12:01 pm 


  • प्रतिक्रिया दिनुहोस्