सुर्खेतः कर्णालीमा दलित समुदायको साक्षरता दर अन्य प्रदेशका तुलनामा कम रहेको पाइएको छ । कर्णालीमा दलित समुदायको साक्षरता दर ४९ दशमलव १ प्रतिशत छ । राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदनले कर्णालीका दलित समुदाय सबैभन्दा धेरै निरक्षर रहेको देखाएको हो ।
प्रतिवेदनअनुसार नेपालमा दलित समुदायको कुल जनसंख्या ३८ लाख ९८ हजार ९ सय ९० रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यसमध्ये दलित समुदायको जनसंख्या १३ दशमलव ४ प्रतिशत छ । नेपालमा दलित जनसंख्याको साक्षरता दर ६७ दशमलव २ प्रतिशत छ ।
यस्तै, लुम्बिनीमा दलित समुदायको साक्षरता दर ७३ दशमलव ३, गण्डकीमा ७०. सुदूरपश्चिममा ७२ दशमलव ३, बागमतीमा ७२ दशमलव ४, मधेशमा ७७ दशमलव ९, कोशीमा ७६ दशमलव ४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय दलित आयोगबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत विभिन्न निकायहरूलाई दलित हक अधिकार सम्बन्धी नीतिगत, कानूनी र कार्यक्रमहरू तर्जुमा तथा कार्यान्वयनका लागि सिफारिस गरिए पनि कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको प्रतिवेदनले औल्याएको छ । राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन संघीय संसदमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेका छन् ।

प्रकाशित मितिः August 15, 2025 at 12:16 pm


कर्मसञ्चार । २०८२ साउन ३० गते शुक्रवार