
मुगुको गमगढीमा चामल खोसाखोस गर्दै स्थानीय ।
मुगु, २६ भदौ ।
गमगढी–नाग्मा सडक अवरुद्ध हुँदा सदरमुकाम गमगढीमा चामल अभाव भएको छ । ढुवानी नहुँदा स्टक सकिँदै गएको छ । डेढ महिनादेखि सडक अवरुद्ध भएपछि खाद्य संस्थान र बजारका अधिकांश पसलमा चामल छैन । पिना र झयारी खालो लगायत क्षेत्रबाट ट्याक्टरमा ढुवानी गरिएको चामल सदरमुकाम गमगढी नपुग्दै खोसाखोस भइरहेको छ ।
ट्याक्टरमा चामल आउने थाहा पाएपछि स्थानीयवासी बाटो ढुकेर खोसाखोस गर्न थालेका हुन् । कर्मचारी समेत व्यवसायीलाई अग्रिम रकम बुझाएर चामल खरिद गर्न थालेका छन् । गमगढीमा एक किलो चामल समेत पाउन मुस्किल हुन थालेको छायाँनाथ रारा नगरपालिकाको शोभागाउँका गगन बुढाले बताए । चामल नपाएपछि होटल व्यवसायमा समस्या आएको छ । गाउँबाट चामल लिन गमगढी आएका स्थानीय रित्तै फर्किन बाध्य छन् । चामल नपाएपछि रित्तो हात गाउँ फर्कन थालेको सोरु गाउँपालिका–४ का रामबहादुर शाहीले बताए । खाद्य संस्थान र पसल दुवैमा अभाव भएपछि समस्या भएको उनको भनाइ छ ।
अहिले खाद्य संस्थानको गोदाममा तीन सय क्विन्टल मात्र चामल स्टक रहेको शाखा प्रमुख भरतराज खनियाँले बताए । ‘सडक लामो समयदेखि अवरुद्ध हुँदा ढुवानी गर्न सकिएको छैन,’ उनले भने, ‘यसपालि धेरै अभाव भयो, बजारमा पनि चामल सकिएको छ ।’
नेपालगन्ज र सुर्खेतबाट आएको चामल सदरमुकाम नपुग्दा समस्या भएको व्यावसायीले जनाएका छन् । झयारीखोलाबाट धौधौ गरी ट्याक्टरमा ल्याएको चामल गमगढी नपुग्दै बीच बाटोमै खोसाखोस हुने गरेको लुम्बिनी अर्डर एन्ड सप्लायर्सकी प्रोपराइटर सुमित्रा रावलले बताइन् । ‘रकम भएर पनि स्थानीयले चामल किन्न पाएका छैनन्,’ उनले भनिन्, ‘सडक अवरुद्ध हुँदा चामललगायत खाद्यान्नको चरम अभाव भएको छ ।’ उनका अनुसार मैदा, तेल र चिउरालगायत खाद्यान्न स्टक छैन । उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले सडक नखुल्दा सबै दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको बताए । गमगढीमा चामल नहुँदा हुम्लाको तल्लो भेग तथा आसपासका स्थानीयलाई समेत असर परेको उनले जनाए ।


कर्मसञ्चार । २०७५ भाद्र २६ गते मंगलवार