
सुर्खेत । चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८३’ आयोजना गरिएको छ । महोत्सव शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरू हुँदैछ । नेपाली चलचित्रको प्रवद्र्धन गर्ने हेतुसहित “घूमौं कर्णाली, हेरौं कर्णाली” भन्ने नारा दिइएको महोत्सवले कर्णाली क्षेत्रलाई चलचित्र र पर्यटनको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । महोत्सवको शुभारम्भ तथा चलचित्र पर्यटन संवाद कार्यक्रम बैशाख ११ गते वीरेन्द्रनगरस्थित होटल शुभमा हुनेछ । त्यस्तै, बैशाख १२ गते सल्यानको कुपिण्डेदहमा चलचित्र पर्यटन समारोह आयोजना गरिनेछ ।
महोत्सवअन्तरगत शहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कर्णालीमा प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्यटन विकास तथा चलचित्रसम्बन्धी गतिविधि न्यून रहेको अवस्थालाई मध्यनजर गरी विगत तीन वर्षदेखि महोत्सवले नयाँ अभियानको थालनी गरेको हो । यस अभियानमार्फत कर्णालीका कला, संस्कृति, परम्परा, कथा, भाषा, भेषभूषा, र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीको सम्भावनालाई उजागर गर्न महोत्सव महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे । महोत्सवमार्फत कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल, सम्भावित छायाङ्कन क्षेत्र तथा मौलिक संस्कृतिलाई चलचित्रकर्मीहरूमाझ पुर्याउने योजना रहेको उनले बताए । चलचित्र र पर्यटन क्षेत्रलाई स्थानीय, प्रदेश तथा संघीय सरकारसँग जोड्दै विभिन्न कार्यक्रम अघि बढाइएको आयोजकको भनाइ छ ।
प्रकाशित मितिः April 24, 2026 at 11:45 am























कर्मसञ्चार । २०८३ वैशाख ११ गते शुक्रवार