हाम्रो जन्मदिन खोइ ?

 ईश्वर अधिकारी


२०७६ सालको क्यालेन्डर कार्यकक्षको टेबुलमा छ । प्राइभेट बैंकमा काम गर्ने साथी उमेशले दिएको । बैंकमा साथीभाइ हुँदा लिन सकिने लाभमध्येको एक क्यालेन्डर पनि हो । बस्— सालमात्रै फेरियोस्, क्यालेन्डर हात पर्‍यो ।

वैशाखको एकदिन उसको अफिसमा खाता खोल्न पुगेको थिएँ । उसैको सिफारिसमा ‘सबैको सहारा बचत खाता’ (जो सरकारले सबै नागरिकलाई बैंकिङ पहुँचमा ल्याउन शुरू गरेको अभियान पनि हो) खोलें । खाता खोलेबापत बैंकले नै १ सय रुपैयाँ जम्मा गरिदिने रहेछ ।

नयाँ शाखा खुले कि बैंकैपिच्छे खाता खोल्ने तर एक रुपैयाँ पनि जम्मा नगर्ने मजस्ता आर्थिक अनुशासनका न्यूनतम शर्त पनि पूरा नगर्नेलाई यो अवसर काइदाकै छ । कम्तीमा खातामा १ सय रुपैयाँ ब्यालेन्स त रहन्छ ।

खाता खोलें । फर्किन लाग्दा उसले भन्यो, “मेरो अफिस आ’छस् । एक कप चिया खाने, क्यालेन्डर लिएर मात्रै जाने ।”

साल फेरिएको दुई साता बितिसकेको थियो । क्यालेन्डर फेर्नेबारे उसले सम्झायो । ठिकै भनिस् । चिया पिएँ । टेबुलमा राख्न मिल्ने क्यालेन्डर लिएर हिँडें ।

जेठको अन्तिमतिर त्यही सौजन्यवाला क्यालेन्डर हेर्दै थिएँ । यो वर्ष जन्मदिन पर्‍यो होला कि नाइ ? पुस ३० गते । हेरें— २९ मै सकिएछ महिना ।

यो वर्ष पनि मेरो जन्मदिन परेन । कस्तो दिन पारेर जन्मेछु यार ! जन्मदिन आउन पनि दुई–तीन वर्ष कुर्नुपर्ने ! परेकै साल पनि जन्मदिन मनाउने गरिएको त छैन । प्रत्येक साल पर्दो हो त जन्मदिनको महत्व पनि हुँदो हो । योजना बनाइँदो हो । धुमधामले मनाइँदो हो । जन्मिएको दिनै नजुरेपछि गर्नु पो के ?

जन्मदिनै नपर्दा खल्लो लाग्छ । हर्ष र उत्सवबिनाको रित्तो साल । लाग्छ— छेउछाउ क्यालेन्डर राख्नु÷झुन्डाउनु पनि बेकार छ, जसमा आफ्नै जन्मदिन हुँदैन । अरूको जन्मदिनमात्रै पर्ने क्यालेन्डर मेरो के कामको ?

धेरै पछि अर्थात् जुँगाले रेखी हालेपछि मात्रै मेरो जन्मदिन ‘फिक्स’ गरिएको थियो । त्यो पनि गाउँका आमाहरूले आफूहरूलाई सुत्केरी व्यथा लागेका दिन सम्झेर । हलानो घरको फलानो काइँलोभन्दा चार दिन पछि जन्मेको हो भन्ने आधारमा । जन्म दिने आमाहरूकै मुखबाट सुनेपछि नपत्याउने कुरो पनि भएन । जन्मिएको दिनको टुंगो लगाउन जन्मदाता स्वयंभन्दा अरू बलियो प्रमाण केही होला र ?

काइँलो पुस लास्टको शनिबार अर्थात् २६ गते जन्मिएको रै’छ । त्यस हिसाबले म ३० गते जन्मिएको ठहरिएँ । एकसाँझ मेरै घरमा मकै खोल्साउँदै मेरी आमा, कान्छी आमा र गाउँका आमाहरूले ‘कम्फम्’ गरेको ‘बर्थ डेट’ ।

अब भन्नुस्, आमा समूह राखेरै यति मेहनतका साथ पत्ता लगाएको जन्मदिन पनि सालैपिच्छे नपरिदिँदा कसको कन्सेरी तात्तिन्न ? मन अमिलो अनि वर्ष धमिलो लाग्दैन ?

म उति पुरानो मान्छे त होइन तर तिनताका हामीले स्कुल पढुन्जेल जन्मदर्ता गर्ने चलन थिएन । स्कुल भर्ना हुँदा जन्मदर्ता अनिवार्य गर्न थालिएको केही वर्षमात्रै भएको छ । स्कुल भर्ना हुँदा मास्टरले मेरो जन्ममिति स्वविवेकले लेखिदिए रजिस्टरमा । त्यही मिति हरेक प्रमाणका पत्ताहरूमा रहँदै आयो ।

मलाई चिनेजानेकाले यो लेख पढे भने अवश्यै भन्लान्– यसका बा ज्योतिषी गर्थे, आफैं चिना–टिपन बनाउँथे । यसले गफ दियो । भाउँत्ता हाल्यो ।

हो, बुवाले आफ्ना छोराछोरीका मात्रै होइन, अरूका पनि चिना–टिपन बनाउनुहुन्थ्यो । मेरो पनि चिना पक्कै बनाउनुभएकै हुँदो हो । म सानै छँदा बुवा स्वर्गवास हुनुभयो । उहाँले बनाएको मेरो चिना–टिपन मात्रै होइन, अरू भाइबहिनीका पनि कता परे, हराए । अरूले देखँ म के जानूँ ! आफ्ना आँखाले देखिनँ । भेटाइनँ ।

पञ्चांग निर्णायक समितिमै राख्नुपर्ने लायकको समस्या मलाई छ । मजस्ता अरू पीडित पनि छन्, जो २९ पछि जन्मिएका हुन् । प्रत्येक साल जन्मदिन मनाउनेले हाम्रो व्यथा कसरी बुझ्छन् ? धन्न आजकाल फेसबुक छ । उसले देखाइदिन्छ ‘टुडे इज बर्थ डे’ । नक्कली नै सही । थोरै भए पनि सौराइँ मेटिन्छ । नत्र मजस्ता तमाम ‘बर्थ डे’ पीडितको मर्म बुझिदिने कसले ?

त्यसो त कैयनलाई लाग्ला— जन्मदिन नपर्नु कौनसा ठूलो कुरो भयो र ?

अर्थोक जे–जस्तो भए पनि जन्मदिन नपरेकै कारण हामी तमाम अवसरहरूबाट बञ्चित भएको चाहिँ सत्य हो । हामीलाई पनि गिफ्ट बुझ्ने, मन्दिर जाने, वृद्धाश्रम पुग्ने रहर छ । असहायलाई केरा बाँडेर अखबारमा समाजसेवी छापिने लोभ छ । साथीभाइको ग्यादरिङ गरेर तिनलाई छाद्ने गरी बिजुली पानी पिलाउने उत्तिकै धोको छ । फलफूल बाँडेको सेल्फी फेसबुकमा पोस्ट्याएर पुण्यकर्म गरेको मार्केटिङ गर्ने चाहना त कति छ कति ! प्रिय मान्छेको ‘ह्याप्पी बर्थ डे टु यु डियर’ आएन भनेर ठुस्सिन नपाएको पीडा पनि त छ ।

हामी एकदिन भए पनि सामाजिक सञ्जालमा भाइरल हुन्थिम् । कसैको प्रिय, प्यारो, अनन्य, बालसखा, सहपाठी, सहकर्मी भइन्थ्यो । कुशल, मिजासिलो, बौद्धिक, मिलनसार, सरल, हेन्सम, हिरो के–के प्रशंसा आउँथे । देखावटी नै भए पनि हामीलाई अरूले के ठान्थे, थाहा त हुन्थ्यो ।

कतै पढेको थिएँ— जीवन सुन्दर अवसर हो । सुन्दर अवसर पाइने दिन हो, जन्मदिन । जीवनमा दुइटा दिन महत्वपूर्ण हुन्छन् । तिमी जन्मिएको दिन र तिमी के–का लागि जन्मिएका हौ भनेर तिमी आफैंले पत्ता लगाएको दिन ।

जीवन पाएकै दिन वर्षमा एकपटक पनि नआएपछि हामीले सुन्दर अवसरको उपयोग गरौं कसरी ?

जन्मिएको दिन सित्तिमिति पर्दैन । के–का लागि जन्मिएको हो, त्यो त झन् पत्ता लगाउन सक्ने छनकसमेत देखिएको छैन । यो जीवन नामको तत्व बुझ्न सकिएलाझैं लागेको पनि छैन । हामी मात्रै हो र ! जन्मनुको उद्देश्य जन्मदिन मनाउनेहरूले पनि पत्ता लगाउन सक्या पो कहाँ छन् र ?

मन दुख्छ । भारी हुन्छ । एक खालको बेचैनी पनि । किनकि पशुपंक्षी, कीराफट्यांग्रा, चरामुसा, सर्प, भ्यागुता र वनस्पतीका विभिन्न प्रजातिका समेत जन्मदिन हुन्छन् । दिवस पर्छन् । जन्मदिन मनाइन्छन् । देवतादेखि राक्षससम्मको जन्मदिन सम्झनामा चाडपर्व तय गरिन्छ । हामी मान्छे भएर पनि मान्छेजस्ता भएनौं, जन्मिएर पनि नजन्मिएका जस्ता भयौं । किनकि हाम्रो जन्मदिन हरेक सालको पात्रोमा अट्दैन । हाम्रो नाममा केट कट्दैन ।

मानिसको औसत जीवनलाई आधार मान्दा पुगनपुग आधा हिस्सा बिताइसकियो । यस आधारमा अहिले मेरो जिन्दगीको ‘हाफ टाइम’ चलिरहेछ । आजको दिनमात्र होइन, यदि औसत आयुसम्म नाडी, धड्कन सहिसलामत चलिरहे भने उस दिनसम्म पनि जन्मनुको अर्थ खोज्ने प्रयत्न भने जारी नै रहनेछ । भलै प्रत्येक साल जन्मदिन नपरोस् !

(लेखक यस अनलाइन पत्रिकाका सम्पादक हुन् ।)

प्रकाशित मितिः   July 16, 2019 at 12:12 pm 


प्रतिक्रिया दिनुहोस्