ग्याँस अन्वेषणको प्रारम्भिक नतिजाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

सुर्खेतःप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास अन्वेषणको पछिल्लो नतिजाबारे सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवम् भावी कार्यदिशाबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको छ ।
हालको ड्रिल साइट दैलेखको जलजलेमा ११२ दशमलव १ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । सोही नतिजाबारे प्रधानमन्त्रीलाई अवगत गराइएको हो । प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका छन् । उनले यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बताएका छन् । छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसद्हरू र नागरिक समाजका अगुवाहरू सहभागी थिए ।

प्रकाशित मितिः   June 23, 2025 at 12:15 pm 


  • प्रतिक्रिया दिनुहोस्