
सुर्खेतः भेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । चिनियाँ गेजुवा कम्पनीले जाजरकोटको नलगाढ र रूकुम–पश्चिमको आठबिसकोट नगरपालिका बीचमा रहेको भेरी नदीमा भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।
प्रस्तावित यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमाथि मंगलबार वन तथा वातावरण मन्त्रालयमा छलफल भएको छ । छलफलमा सरकारी अधिकारी तथा विज्ञहरूका राय सुझाव संकलन गरिएको छ । वातावरण संरक्षण ऐन, २०७६ ले तोकेको राय सुझाव समितिको बैठकमा मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानले स्थानीय जैविक विविधता, स्थानीय तथा आदिवासी जनताको जीविकोपार्जनलाई कम असर गर्नेगरी प्रस्तावित आयोजना निर्माणलाई अगाडि बढाउनुपर्ने औल्याए ।
त्यस्तै, बैठकमा राय सुझाव समितिका सदस्य सचिव एवम् मन्त्रालयका उपसचिव रमेश बस्नेतले वातावरणीय अध्ययन प्रतिवेदन औपचारिक मात्र नभई आयोजनाको दिगो सञ्चालनका लागि तयार पारिने वैज्ञानिक एवम् कानुनी दस्तावेज भएको उल्लेख गरे । बैठकमा भौतिक विज्ञ शिवराज अधिकारी, जैविक विज्ञ गोपालकुमार श्रेष्ठ, सामाजिक, आर्थिक र सांस्कृतिक विज्ञ राजनऋषि कँडेल र माछा विज्ञ सन्तोषी श्रेष्ठलगायतले प्रतिवेदनमाथी सुझाव दिएका थिए ।
उक्त प्रस्तावित आयोजनाको वातावरणीय अध्ययनको काम गरिरहेको एनआरएसीका कार्यकारी निर्देशक डा. ज्योतिप्रसाद गजुरेलले आयोजना निर्माणका क्रममा २४.७५ हेक्टर जग्गाको प्रयोग हुने बताए । उनका अनुसार आयोजना निर्माण गर्दा १५२ वटा रुख काट्नुपर्ने छ । ६ घण्टासम्म पानी जम्मा गर्नेगरी निर्माण गर्न लागिएको उक्त आयोजनाको ३८ मीटर अग्लो बाँध निर्माण हुने बताइएको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाउन लागिएको उक्त आयोजना ४६ अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने आँकलन छ । यो आयोजनाको पावरहाउस रूकुम–पश्चिमको आठविसकोट नगरपालिकास्थित ज्यामिरेमा बन्नेछ ।























कर्मसञ्चार । २०८२ जेष्ठ २७ गते मंगलवार