स्थानीय सरकार

 चिङ्गाड गाउँपालिकामा के–के भए काम ?

अध्यक्ष बोधविक्रम जिसी र उपाध्यक्ष मिनाकुमारी रोकाया नेतृत्वको चिङ्गाड गाउँपालिकाले तीन वर्षको अवधिमा सम्पादन गरेका मुख्य–मुख्य काम र हासिल गरेका उपलब्धि बुँदागत रूपमाः
१. गाउँपालिकाको शैक्षिक सुधारका लागि सबै विद्यालयमा अनुगमन गरी सोही प्रतिवेदनका आधारमा शैक्षिक योजना र भौतिक संरचना निर्माणका कार्यक्रम बनाई कार्यान्वयन गरिरहेको ।
२. शिक्षा ऐन र नियमावलीबमोजिम गाउँपालिकामा दरबन्दी मिलान गरी शिक्षकहरूको व्यवस्थापन गरिएको ।
३. चिङ्गाड गाउँपालिकाको बिचबाट बग्ने चिङ्गाड खोलाको क्षेत्राधिकार एकीन गरी दुबैतिर तटबन्धन गर्नुका साथै खोलाको वारिपारि गार्डेनसहितको सडक निर्माण गरेर पर्यटकीय क्षेत्रको रूपमा चिनाउने लक्ष्यअनुसार काम अघि बढाइएको ।
४. विगतदेखि प्रक्रियामा रहेको १५ सैया अस्पतालको जग्गा प्राप्तिको कार्य सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइएको ।
५. विधुतको लाइन विस्तारसँगै पालिकाको ६ वटै वडामा विद्युत सेवा सञ्चालनमा आएको ।
६. पालिकाबासीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै स्वास्थ्य चौकी रानीबासमा आर्थिक वर्ष २०८०/८१ देखि ‘ख’ वर्गको एम्बुलेन्स सेवा सुचारू गरिएको । प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ्ग र स्वास्थ्य चौकी मटेलामा पनि एम्बुलेन्स सेवा सञ्चालन गरिएको ।
७. वडा–वडामा कृषि समूह गठन गरी कृषि पेशालाई आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरिनुका साथै चालु आर्थिक वर्षदेखि प्रत्येक वडास्तरमै नर्सरी निर्माण गरी कृषकहरूलाई तरकारी बाली उत्पादनमा आत्मनिर्भर बनाउन ‘अध्यक्षसँग कृषि कार्यक्रम’ सञ्चालन गरिएको ।
८. भौगोलिक विकटता भएका स्थानमा विभिन्न समयमा घुम्ती सेवामार्फत सेवा प्रवाह गर्दै आइरहेको ।
९. चिङ्गाड चक्रपथ निर्माण प्रक्रियाको थालनी गरिएको ।
१०. सम्पूर्ण टोल–टोलमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्न विभिन्न संस्थासँगको साझेदारीमा खानेपानी व्यवस्थापनको कार्य अगाडि बढाइएको ।
११. गाउँपालिकाको खानेपानी व्यवस्थापनका लागि पालिकास्तरीय समिति गठन गरी खानेपानी संस्था निर्माणको प्रक्रिया अगाडि बढेको ।
१२. परम्परागत कला संस्कृतिको जगेर्ना गर्न विद्यालयमा कला संस्कृति पुस्तान्तरण कार्यक्रम सञ्चालन भइरहेको ।
१३. खेल क्षेत्रको विकासको लागि पालिकास्तरीय रंगशाला निर्माण प्रक्रिया थालिएको ।
१४. खेल र खेलाडिलाई प्रोत्साहन गर्न गत मसिर १ गते देखि ५ गतेसम्म गाउँपालिका अध्यक्ष कप अन्तरपालिका स्तरीय खेलकुद कार्यक्रम सम्पन्न गरिएको ।
१५. महिला, अपाङ्ग, दलित तथा अन्य पछाडि परेका व्यक्ति तथा समुदायको उत्थानको लागि आय–आर्जनमूलक सीप विकासका तालिमहरू प्रत्येक आर्थिक वर्षमा सञ्चालन गरिँदै आएको ।
१६. युवाहरूलाई सरकारी सेवामा प्रेरित गर्नको लागि गाउँपालिकाको लगानीमा लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको ।
१७. वर्षौदेखि डाक्टर नपाएको चिङ्गाड गाउँपालिकाले यसै आर्थिक वर्षदेखि लोक सेवाको सिफारिसमा मेडिकल अधिकृतसहित प्राथमिक स्वाथ्य केन्द्र अवलचिङ्गबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको र वडास्तरमै स्वास्थ्य शिविर प्रदान गर्न डाक्टरसहित घुम्ती सेवा कार्यक्रम सञ्चालन गरिएको ।
१८. चिङ्गाड–४ मटेला, ठाँटीबजारमा रहेको पुरानो र जीर्ण देउतीबज्यै मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गरिएको ।
१९. चिङ्गाड गाउँपालिकाको प्रत्येक वडामा टोल विकास समिति गठन गरी गाउँपालिकाको समग्र विकासमा टोलस्तरबाट सहभागिता जुटाउन टोल विकास समिति दर्ता प्रक्रिया अगाडि बढाइएको ।
२०. सडक तथा अन्य पूर्वाधार विकासको कामलाई तिव्रता दिइएको ।

प्रकाशित मितिः   June 4, 2025 at 12:22 pm 


  • प्रतिक्रिया दिनुहोस्