बुलबुलेबाट भ्रमण वर्षको शुभारम्भ, के छ सरकारको तयारी ?

सुर्खेत, १४ पुस ।
सुर्खेतको बुलबुलेबाट ‘नेपाल भ्रमण वर्ष’ सन् २०२० को शुभारम्भ गरिने भएको छ । कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले जनवरी १ (पुस १६) का दिन बुलबुलेबाट भ्रमण वर्षको शुभारम्भ गर्ने भएको हो । बुलबुले प्रदेश राजधानी सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँबाटै पर्यटकलाई स्वागत गरेर भ्रमण वर्षमा जतिसक्दो बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रदेश सरकारको योजना छ ।

बुलबुलेमा  विविध कार्यक्रम गरी भ्रमण वर्ष मनाउने तयारी गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशका विभिन्न जिल्ला र समुदायका कला, संस्कृति झल्कने झाँकीसहित वीरेन्द्रनगर बजारबाट सुरु भएर बुलबुलेतालमा पुगेर भ्रमण वर्षको शुभारम्भ गरिने कार्यक्रम तय भएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बताए । उनका अनुसार सोही अवसरमा सागका पदकविजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।

प्रदेश सरकारले भ्रमण वर्षमा १ लाख बाह्य पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्य राखेको छ । सरकारले कर्णालीमा २० वटा आन्तरिक र २० वटा बाह्य गन्तब्य किटान गरेको छ । यसपटक सरकारको योजना विशेषगरी बाह्य पर्यटक भित्र्याउने रहेको मन्त्री बुढाले जानकारी दिए । रारा कर्णाली पर्यटन वर्षका उपलब्धि र सिकाइलाई आधार बनाएर यो पटक भ्रमण वर्षमा अत्यधिक स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने तयारीमा जुटेको भन्दै मन्त्री बुढाले पर्यटकलाई अत्यधिक सुविधा र सुरक्षा दिलाउन सरकार प्रतिवद्ध रहेकोको जिकिर गरेका छन् ।

यसपालि प्रदेश सरकारको पर्यटन प्रर्वद्धन समितिले भ्रमण वर्षमा पर्यटकलाई कर्णालीमै आर्कषण गराउन आफ्नै नारा र लोगो बनाएर प्रचारप्रसारमा जोड दिने योजना बनाएको छ । ‘यसपालि घुमौं कर्णाली’ (इट्स टाइम फर कर्णाली) नारासहित प्रदेश सरकारले प्रवद्र्धन र पूर्वाधार विकासका काम सँग–सँगै सञ्चालन गरेर पर्यटकमैत्री कर्णालीको अवधारणा साकार पार्ने बताइएको छ । यसको कार्यान्वयनका लागि प्रदेश सरकारले पुस १६ गते नै ९ महिना लगाएर तयार पारेको ‘पर्यटन गुरुयोजना’ सार्वजनिक गर्दैछ ।

प्रकाशित मितिः   December 30, 2019 at 8:01 pm 


  • प्रतिक्रिया दिनुहोस्