सुर्खेत, २६ पुस ।
जुम्ला तातोपानी स्थायी ठेगाना भए पनि ४५ वर्षीया बिजुली खत्री सुर्खेतमै व्यापार व्यवसाय गरी बस्छिन् । उनी जुम्ला नगएको धेरै भयो ।
तर, सोमबार राष्ट्रिय किसान आयोगद्वारा आयोजित दुईदिने अन्तरक्रियामा उनी जुम्लाबाट प्रतिनिधित्व गर्दै सहभागी भइन् । यसको कारण थियो– बढी भत्ता पाइने आस । ‘सुर्खेतबाट बस्दा भत्ता कम पाइने भएकाले हाजिरीमा जुम्ला लेखेकी हुँ †’ उनले भनिन्, ‘भत्ता पाइन्छ आऊ भनेर बोलाएपछि आएकी हुँ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सुर्खेतमा बसेर विकट जिल्लाको प्रतिनिधित्व गरी महँगो भत्ता बुझ्ने उनी एक्लो व्यक्ति होइनन् । प्रदेश राजधानी भएपछि सुर्खेतमा बसेर पहाडी–हिमाली जिल्लाको भत्ता खाने प्रवृत्ति मौलाएको छ । सोही कार्यक्रममा भेटिए दैलेखका रामबहादुर कटुवाल । राजनीतिक नेताका रूपमा परिचित उनी प्राय: सुर्खेतमै बस्छन् । तर, कृषिसम्बन्धी उक्त कार्यक्रममा दैलेखबाट कृषकको प्रतिनिधित्व गर्दै उनी कार्यक्रम बसे ।
सुर्खेतमा बसोबास गर्ने भए पनि भत्ताको लागि पहाडी जिल्लाको हाजिर लगाउनेमात्र होइन, कार्यक्रमसँग असम्बन्धित व्यक्तिहरू पनि सहभागी हुने गरेका छन् ।
जाजरकोट नलगाड नगरपालिका–४ का हरिचन्द्र रावललाई कृषिसम्बन्धी कार्यक्रममा देखेपछि सोही जिल्लाबाट आएका सहभागी अचम्भित भए । रावल स्थानीय लघु जलविद्युत् आयोजनाका प्रबन्धक हुन् । ‘सुगममा बसेर दुर्गमको नाम बेच्दै भत्ता खाने प्रवृत्तिले किसान मारमा परेका छन्,’ कार्यक्रममा सहभागी सुर्खेतस्थित शिवशक्ति सामुदायिक वनकी अध्यक्ष मीना आचार्यले भनिन्, ‘भत्ताको आसमा नेता र कार्यकर्ताले कार्यक्रम भरिभराउ छ ।’
कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका करिब सय जनाको उपस्थिति थियो । तर, अधिकांश सहभागी सुर्खेतमा स्थायी तथा अस्थायी बसोबास गर्नेहरू थिए । वास्तविक किसान र किसान प्रतिनिधिको संख्या अत्यन्त कम थियो । अधिकांश सहभागी राजनीतिक दलका नेता/कार्यकर्ता र अन्य पेसा व्यवसायमा संलग्न थिए ।
तीन दिनको यात्रापछि सुर्खेत पुगेका डोल्पाका गौरबहादुर विकले सुगममा बसेर दुर्गमको भत्ता खाने सहभागी देखेर आश्चर्यमा परेको बताए । यस्तै कारण हिमाली जिल्लाका किसानले सरकारबाट पाउने अनुदान नपाउने गरेको उनको भनाइ छ ।


कर्मसञ्चार । २०७५ पुष २६ गते बिहीवार